२२ कार्तिक २०८३, आइतबार

नौ मुलुक प्रतिनिधि सम्मिलित प्रशिक्षण शुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । अन्तर्राष्ट्रिय मानवीय कानूनबारे दक्षिण एशियाली प्रशिक्षण सत्रको ३१औँ श्रृङ्खला आइतबारदेखि यहाँ शुरु भएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति र काठमाडौँ स्कुल अफ ल कलेजद्वारा आयोजित उक्त प्रशिक्षणमा नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, श्रीलंका, भुटान, इरान, माल्दिभ्स र पाकिस्तानका सरकारी अधिकृत, प्रहरी, सेना, शैक्षिक निकाय, मानवअधिकार तथा नागरिक समाजका व्यक्तिको सहभागिता रहेको छ ।

प्रशिक्षणमा सशस्त्रद्वन्द्वको समयमा नागरिक, बालबालिका तथा सांस्कृतिक सम्पदाको संरक्षणका सम्बन्धमा पुर्‍याउनुपर्ने होसियारीबारे विभिन्न सत्र सञ्चालन हुनेछन् । युद्धका तरिका र साधन, अन्तर्राष्ट्रिय मानवीय कानून एवं संक्रमणकालीन न्यायका विविध विषयमा विस्तृतरुपमा छलफल हुनेछ ।

सशस्त्र द्वन्द्व र हिंसाका परिस्थितिबाट पीडित व्यक्तिको जीवनरक्षाको सहयोग उपलब्ध गराउँदै आएको इन्टरनेशनल कमिटी अफ दी रेडक्रस (आइसिआरसी) निष्पक्ष र तटस्थ संगठन हो । उक्त प्रशिक्षणको उद्घाटन गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मानवीय कानूनको विकास र प्रवद्र्धनमा नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

आइसिआरसी काठमाडौँ नियोग प्रमुख आन्द्रे पाकेले द्वन्द्वपछिको मानवीय आवश्यकतालाई सम्बोधन गर्ने सन्दर्भमा गठन भएका सत्यनिरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग मिलेर आफूहरुले काम गर्दै आएको बताउनुभयो । यसअघि यस्ता प्रशिक्षण नेपालमा चारपटक भइसकेका छन् । –रासस