१३ कार्तिक २०८३, शुक्रबार

प्रदेश राजधानीमै तस्करीका सामान छ्यापछ्याप्ती

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १६ चैत । प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर भिœयाउने गरेको पाइएको छ । बजारमा बेचिने कपडादेखि हार्डवेयरका ९० प्रतिशत सामान भन्सार छलेर नेपाल ल्याउने गरिएकोे छ। सुदूर पश्चिमका व्यापारी नाकामा पनि यस्तै अवस्था छ ।

कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएको छ। ‘तयारी कपडा, थानको कपडा, मोटरपार्टस्, हार्डवेयर र भाँडाकुँडाका सामान ९० प्रतिशत चोरी तस्करीबाट भित्रिरहेको छ’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले भने, ‘धनगढी बजारका हार्डवेयर, भाँडाकुँडा र कपडाका पसलमा बेचिने भारतीय सामानको १० प्रतिशत मात्रै भन्सार हुने गरेको छ।’

थानमा भएको कपडामा ३० प्रतिशत, रेडिमेड कपडामा ४० प्रतिशत र मोटरपार्टस तथा हार्डवेयरको सामानमा ४५ प्रतिशतभन्दा बढी भन्सार महशुल तोकिएको छ। वार्षिक पौने चार अर्ब भन्सार राजस्व लक्ष्य तोकिएको कैलाली भन्सारमा बढी भन्सार लाग्ने सामान चोरी तस्करी भइरहेको हो।

धनगढीदेखि टीकापुरसम्म दुई सय ३५ वटा हार्डवेयर पसल संघमा दर्ता छन। एक सयभन्दा बढी व्यवसायीले संघको सदस्यता नलिएका हार्डवेयर संघ कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। उनले भने, ‘हार्डवेयरको सामानमा फलामे छड र सिमेन्टबाहेकेका सबै सामान भारतबाटै आयात हुन्छ।’

प्रदेश नम्बर ७ का महाकाली र सेती अञ्चल यातायात व्यवस्था कार्यालयको तथ्यांकका आधारमा सवा लाख सवारीसाधन दर्ता छन्। कैलाली र आसपासमा ती सवारीसाधनमा लाग्ने पार्टस तीन सयभन्दा बढी पसल छन्। ‘यी सबैजसो सामान भन्सार छलेर आइरहेका छन्’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले भने। कैलाली भन्सार कार्यालयले साउन यता हार्डवेयरका सामानको तीन करोड ३० लाख, कपडाको १९ लाख, र मोटस पार्टसको ४६ लाख मात्रै भन्सार संकलन गरेको छ। मासिक अनुपातमा ३४ करोड राजस्व संकलन लक्ष्य पाएको कैलाली भन्सार कार्यालयमा यी सामान नगन्य आउने गरेको भन्सार कार्यालयको ठहर छ ।

‘एक सय एक किलोमिटर लामो सिमानाको कुरा त परै छोडौं, भन्सारसँगै जोडिएको मोहना नदीको घाट नम्बर १ देखि ६ सम्म शसस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमै तस्करी भइरहेको छ’, भन्सार कार्यालय नजिकैको तिल्केताल टोल सुधार समितिका अध्यक्ष मणीराज जोशीले भने, ‘हामीले एकै रातमा पाँच लाख बराबरको सामान पक्रेर भन्सारलाई बुझाएका छौं।’

कैलाली भन्सार कार्यालयले साधन स्रोतको अभाव भएकाले पनि तस्करी नियन्त्रण गर्न नसकिएको जनाएको छ। कैलाली भन्सारका सूचना अधिकारी उप्रतीले भने ‘द्वन्द्वकालमा विस्थापित भएका कैलालीका चार वटा छोटी भन्सार अझै पुनस्र्थापना भएका छैनन्। भन्सार गस्ती भनेर छुट्टै गस्ती टोली दिएको छैन। भएको एउटा सवारीसाधन पनि प्रदेश मन्त्रालयमा लगिसकेको छ।

शसस्त्र प्रहरी सीमा सुरक्षा बल कैलालीका प्रवक्ता शसस्त्र प्रहरी नायव उपरिक्षक खगेन्द्र चन्दले भने १ सय १ किलोमिटरको खुला सीमानामा दुई वटा मात्रै पोष्ट रहेकाले एउटाले ५० किलोमिटरको क्षेत्र हेर्न नसकेको बताए। यस्तै कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले पनि प्रहरीको संलग्नतामा तस्करी भएको प्रमाण दिए त्यो प्रहरीलाई कारबाही गर्ने बताए।