हेटौँडा, १५ चैत । मकवानपुर जिल्लाको थाहानगर नगरपालिका चित्लाङस्थित मनी ट्रान्सफरबाट पैसा चोरी गर्ने पदमबहादुर पोडे (ज्ञानबहादुर)लाई प्रहरीले पक्राउ गरेको छ ।
चैत ९ गते बिहान २ बजे चित्लाङस्थित मनी ट्रान्सफरबाट सात लाख ६० हजार रुपियाँ चोरी गरेर फरार भएका थिए । ५२ वर्षीय पोडेलाई प्रहरीले थाहानगर नगरपालिकाको वडा नं. ९ स्थित आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १२ बस्ने किरण महर्जन र राजन कपालीले थाहानगर नगरपालिकाको वडा नं. ९ मा घर भाडामा लिई मनी ट्रान्सफरको कारोबार गर्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले पोडेलाई पक्राउ गरेको थियो । पोडेलाई मकवानपुर जिल्ला अदालतले चोरी मुद्दा दिन ५ को म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको छ ।












प्रतिक्रिया