न्यूयोर्क । अमेरिका, क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गरेका गैरआवासीय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिस्कोमा बौद्धिक भेला आयोजना गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए), एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा जुन १६ र १७ मा यो भेला हुन लागेको हो ।
भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत बैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गरेका नेपाली र नेपाली मुलका गैर आवासीय नेपाली सहभागी हुनेछन् ।
सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासीय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।
चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत छन् । यो सिप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि वौद्धिक वर्गसंगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो ।
भेलामा नेपाल सरकारका विशिष्ठ अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनेछन् । बौद्धिक भेलामा एनआरएनएका केन्द्रीय पदाधिकारी पनि सहभागी हुनेछन् ।
एनआरएन अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशीले अमेरिका र क्यानडा लगायत विश्वका विभिन्न देशका रहेका नेपाली बौद्धिक बर्गको पहिलो भेला अमेरिकामा हुन लागेकोमा आफू उत्साहित भएको बताए । ‘यो भेलाले विदेशमा वस्ने नेपाली समुदाय र नेपालको आर्थिक समाजिक विकासमा नेपाली बौद्धिक बर्गको सिप र दक्षतालाई जोड्न मद्दत गर्नेछ’, उनले भनेका छन् ।















प्रतिक्रिया