काठमाडौं, १५ चैत । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत अहिले नख्खु कारागारमा सजाय भोगिरहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नाटकीय रुपमा भारतबाट नेपाल ल्याई सार्वजनिक गरेका बस्नेत प्रहरीकै डिजाइनमा केन्द्रिय कारागारबाट नख्खु कारागार ललितपुर चलान भएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
बस्नेतलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिंदै केन्द्रिय कारागार सुन्धारा चलान गरेको थियो । तर, नख्खु कारागारमा पुगेपछि बस्नेतले त्यहाँका कैदीहरुलाई आपूm डिएसपीको भाई भन्दै धम्क्याउने र कुट्ने गरेको खुलेको छ ।
हत्या अभियोगमा कैद सजाय भोग्न नख्खु पुगेका बस्नेतले आफूलाई शक्तिशाली देखाउनका लागि विगतमा अवैध रुपमा उठाएको पैसामध्ये १० लाख खर्च गरी जेलभित्रै भिआईपी जीम क्लव निर्माण गरेको स्रोत बताउँछ । बस्नेतले जेलरसँग मिलेमतो गरी जिम क्लव निर्माण गरेका हुन् । जेल भित्रै रहेको सामान्य क्लवलाई मर्मत सम्भारको नाममा बस्नेतले लाखौं खर्च गरेको देखेपछि कैदीहरु समेत तीनछक परेका छन् ।
हत्या, जवर्जस्ती असुली र फिरौतीमा कहलिदै आएका गुण्डा नाइके मनोज पुन इन्काउन्टरमा मृत्यु भएपछि बस्नेतको समूह सलबलाउन थालेको हो । बस्नेत र पुन फिरौती तथा असुलीमा पार्टनर भएर काम गर्दै आएका थिए । तर, सिआईबीको डिजाईनमा बस्नेतलाई जोगाई पुनलाई मात्रै इन्काउन्टर गरिएपछि बस्नेतको मनोबल बढ्न थालेको हो ।
त्यसो त गुण्डा नाइके गणेश लामालाई इन्काउन्टर गरी बस्नेत समूहका लोप्साङ राई, रोशन बुढाथोकी र अम्बरबहादुर रानाले बस्नेतकै आफन्त डिएसपीको डिजाइनमा आत्मसमर्पण गर्न लागेको योजना तुहिएपछि बस्नेतले जेलभित्रैबाट नयाँ योजना बनाउन लागेको खुलेको छ । लामामाथिको आक्रमण असफल भएपछि उनीहरु हतियार छाडेर भागेका थिए । तर, गुण्डाको छवि बनेका कारण लामा यतिखेर हतियारको मुद्दा खेप्न बाध्य छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा पुनले बस्नेतसँग मिलेर सहयोगीको भूमिका निभाएको खुलिसकेको छ । तर, प्रहरीले भने गौचन हत्याको मुद्दामा इन्काउन्टरमा मारिका पुनलाई मुख्य अभियुक्त बनाई बस्नेतलाई सहयोगी बनाएर जोगाउन खोजेको छ ।
गौचन हत्या पश्चात सिआईबी र डिआईजी गणेश केसीको छानविन समितीले हत्याको मुख्य योजनाकार बस्नेत रहेको निश्कर्श निकालेको थियो । प्रहरीबाट भेदभाव भएपछि बस्नेत समूह अझै सक्रिय हुने खतरा पनि देखिएको छ । किनकी गौचन हत्यामा संलग्न लोप्साङ राई, सुटर अम्वरबहादुर राना र बस्नेतका नातेदार रोशन बुढाथोकीले बाहिरबाटै रकम असुलेर बस्नेतलाई बुझाउँदै आएका छन् भने बस्नेत भित्र बसेर नयाँ योजना बनाइरहेका छन् । केही ठेकेदारहरुलाई बस्नेतको नाममा राईले धम्याएर पैसा असुलीरहेका छन् ।
प्रहरीले सुरु देखि नै बस्नेत र पुन एउटै समूहमा रहेर असुली देखि हत्यासम्मका घटनामा संलग्न रहेको दावी गर्दै आएको छ । फिरौती असुलीका लागि बस्नेत र पुनले प्रयोग गर्ने व्यक्तिहरु एउटै थिए । ति मध्ये अधिकांश पक्राउ परेपनि राई, राना र बुढाथोकी भने जेल भित्र रहेका बस्नेतको निर्देशनमा अझै पनि असुलिमा सक्रिय छन् ।
बस्नेतले काठमाडौंलाई आधार क्षेत्र बनाई निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर करोडौं असुल्दै आइरहेका छन् । गुण्डा नाइके दावा लामामाथिको गोली काण्ड पश्चात दुबै समूहमा आवद्ध राईले घटनाको जिम्मेवारी लिएका थिए । सिआईवीले पक्राउ गरेका बस्नेतले प्रहरीसँगको बयानमा दावा लामामाथिको गोली प्रहार र गौचन हत्या आफ्नै निर्देशनमा भएको दावी गरेका थिए । जसको अडियो रेकर्ड पनि सिआईवीले सार्वजनिक गरेको थियो ।












प्रतिक्रिया