
पोखरा, १४ चैत । पोखराबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस बुधबार दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका लमजुङ धमिलीकुवाँका ४० वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको कास्की प्रहरीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।
ना ५ ख ३४१ नं को बस पोखरा लेखनाथ महानगरको तल्लो गगनगौँडास्थित पृथ्वीराजमार्गबाट करिब ५० फिट तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस सडकबाट खसेका कारण दुर्घटना भएको थियो ।
घाइते भएका १३ जना उपचार पश्चात घर फर्केका छन् भने दुई जनाको पश्चिमाञ्चाल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । -रासस












प्रतिक्रिया