
काठमाडौं, १४ चैत । प्रहरीले काठमाडौँको बल्खुबाट एक किलो ४ सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार धादिङ गजुरी नगरपालिका–८ घर भई काठमाडौँ गुर्जुधारा बलम्बु डेरा गरी बस्ने २९ बर्षीय राम बहादुर तामाङलाई लागूऔषध अफिम १ किलो ४ सय ग्राम सहित काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरेको छ ।
पक्राउ परेका तामाङ विगत लामो समय देखि लागूऔषध अफिमको अवैध कारोवारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यसैगरी व्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका १९ बर्षीय पवन बिश्वकर्मालाई नियन्त्रित मनोद्विपक लागूऔषधसहित कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको छ ।
यसैगरी बर्दिया घर भएका १९ वर्षीय महेश परियारलाई प्रहरीले लागूऔषध नाइटाजेपाम ६६ ट्याब्लेट, कोड्न १ बोतल, चरेश ८ ग्राम र गाँजा १० ग्राम सहित पक्राउ गरेको छ ।
द्रगिरी नगरपालिका २ स्थित नागढुङगा चेक पोष्टमा बुधबार ना.५ख ८९३७ नम्वरको बसलाई चेक गर्दा परियारले बेकेको झोलाबाट उक्त लागूऔषध बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।












प्रतिक्रिया