
तनहुँ, १४ चैत । तुलसा थापा नेपाली राजनीति र महिला आन्दोलनको लागि खासै नौलो नाम हैन, देसवासीले तुलसालाई नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री बामदेव गौतमकी धर्मपत्नी तथा अनेमसंघकी नेतृको रुपमा चिनेको छ भने तनहुँवासीले उनलाई तनहुँकी
चेलीको रुपमा चिनेको छ । यिनै तनहुँकी चेली तुलसा गत चैत ११ गते ३० वर्ष पछि आफ्नो माईतीगाउँ देवघाट गाविस–२ बैदी पुग्दा निकै भावुक बनिन् ।
२०४४ सालमा बुवा पहलसिंह थापाको निधन भएपछि बैदी पुगेकी थापा त्यसयता माईती गाउँ जाने अवसर पाएकी थिइनन् । पार्टी काम तथा पारिवारिक जिम्मेवारीको कारण यस अघि माईती गाउँ आउन नपाएको तुलसाले बताइन् । हाल प्रतिनिधिसभाकी सांसद समेत रहेकी थापालाई माईती गाउँ आउने साईत देवघाट गाउँपालिकाले जुराई दिएको थियो । देवघाट गाउँपालिकाको आयोजनामा देवघाट–२ क्राँदिपमा आयोजना गरिएको पूर्ण सरसफाइ तथा पर्यटन महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमाले नेतृ थापा आफ्नो माईती गाउँ आएकी हुन् ।
तुलसाको विवाह २०३१ सालमा एमाले नेता गौतमसँग भएको थियो । भूमिगतकालमै रुपन्देहीबाट विहे भएको कारण तुलसा त्यस पछि पनि केही वर्ष माईती आउन पाइनन् । एकैचोटी २०४४ सालमा बुवाको निधन भएपछि माईती पुगेको थापाले बताइन् । आमा भिमकुमारीको भने त्यसको एक वर्ष अघि २०४३ सालमा निधन भएको थियो । यसबीचमा माईती गाउँ आउने रहर भएपनि पारिवारिक तथा पार्टीको कामको कारण समय नमिलेको थापाले बताईन् । ‘एक पटक जसरी पनि माईती गाउँ पुग्छु भन्ने अठोट लिएको थिएँ’ उनले भनिन् ‘गाउँपालिकाले कार्यक्रम बनाएर निम्ता गरेपछि झन सजिलो भयो ।’
३० वर्ष पछि आफू जन्मेको गाउँ आउँदा मन निकै भावुक भएको थापाले बताइन् । ‘आफू जन्मेको ठाउँ, खेलेको ठाउँ र हुर्केको ठाउँमा पुग्दा मन निकै भावुक भयो’ उनले भनिन् ‘अहिले आफू स्वयं राज्यको नीति निर्माणको तहमा पुगेको हुँदा अब माईती गाउँको विकासमा पनि ध्यान दिन्छु ।’
आफूले छोड्दा र अहिले गाउँको विकासमा खासै फरक नभएको भन्दै उनले सडक निर्माण बाहेक अन्य कुरा पहिलेको जस्तै लागेको बताइन् । अब गाउँमा शिक्षा, स्वास्थ्य र सरसफाइ जस्ता सचेतनाका कुराहरु पुर्याउनुपर्ने भन्दै उनले यसको लागि गाउँपालिकासँग समन्वय गर्ने पनि बताइन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बैदीकी चेली एमाले नेतृ तथा सांसद तुलसा थापाको आगमनले आफुहरुलाई पनि हौसला मिलेको बताए । अध्यक्ष थापाले सांसद थापाको आगमनले गाउँलेहरु निकै खुसी भएको भन्दै बैदीको विकासको लागि सांसद थापासँग समन्वय गरि काम गर्ने बताए ।












प्रतिक्रिया