२२ कार्तिक २०८३, आइतबार

उत्तरी सीमा रेखदेखका लागि सशस्त्र खटियो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

दार्चुला, १४ चैत ।  भारतीय पक्षले एकतर्फी रुपमा सीमा नदीको रुपमा रहेको महाकाली नदीमाथि पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु प्रस्थान गरेको छ ।

भारतीय पक्षले गत फागुनमा नेपालको सहमतिबिनै व्यास गाउँपालिकाको वडा नं २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चारवटा पुल निर्माण गरेको विषय सञ्चारमाध्यममा आएपछि सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रको रेखदेख गर्न त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिनुभयो ।

“गुल्मबाट प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा बन्दोबस्तीका सामानसहित मंगलबार सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न र सीमा क्षेत्रमा ओसारपसार हुने अवैध सामान नियन्त्रण गर्न टोली त्यसतर्फ गएको हो,” गुल्मपति जोशीले भन्नुभयो ।

प्रनानि चन्दको कमाण्डमा खटिएको १५ जनाको टोली मौसमले साथ दिएमा व्यास गाउँपालिकाको तिंकरसम्म पुग्ने उहाँले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले त्यहाँ रहँदासम्म सीमा क्षेत्रमा हुने अवैध किसिमका गतिविधिको निगरानी गर्नेसमेत जनाइएको छ ।

यसअघि फागुन २८ गते नेपाली सेनाको एक टुकडी सीमा क्षेत्रको वस्तुगत अवस्था बुझ्न तथा दुर्गम क्षेत्रमा नेपाली सेनाको उपस्थिति देखाउन व्यास गाउँपालिकाको छाङरु गएको छ । –रासस