–नृप हमाल
हुम्ला, १२ चैत । सोमबार बिहानैबाट शुरु भएको हावाहुरीका कारण हुम्लाको सिमकोट विमानस्थलमा हवाई यातायात अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट सिमकोटका लागि हुने हवाई उडान हावाहुरीका कारण प्रभावित हुँदा नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरु आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।
हावाहुरीकै कारण उडान नहुँदा खाद्यान्न, कार्गो सामान, व्यापारीक सामानको ढुवानी समेत हुन सकेको छैन । बिहानैदेखि चलेको हावाहुरीका कारण उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय सिमकोटका बरिष्ठ अधिकृत राजु महतोले जानकारी दिएका छन् । सिमकोट विमानस्थलमा टुइन अटर, डोनियर, लेट र सेस्ना जहाजले उडान भर्र्नेे गरेको साथै यो सिजनमा दैनिक १५ देखि २० उडान हुने गरेका थिए । तर सोमबार बिहानैबाट २२ नट्ससम्म हावा चलेको कारण सोमबारका सम्पुर्ण उडान प्रभावित भएको महतोले बताए ।
सिमकोट बिमानस्थलमा तारा, गोमा, सिता र मकालु एअरले नेपालगञ्ज र सुर्खेतबाट दैनिक उडान गर्दै आएका छन् भने नेपाल एअरलाईन्सले नेपालगञ्जबाट हप्ताको एउटा उडान भर्दै आएको छ । बिहानैबाट शुरु भएको हावाहुरीले पैदलयात्रीलाई समेत प्रभावित पारेको छ भने हावाहुरीले धुलाम्य बनाएको र घर बाहिर निष्कन पनि अपठ्यारो भएको छ । हावाहुरी चल्दा हिड्न समेत अपठ्यारो भएको स्थानीयबासि दिनेश रावतको भनाई छ ।












प्रतिक्रिया