२२ कार्तिक २०८३, आइतबार

गाउँपालिका कार्यालय सारिएकोमा स्थानीयको आपत्ति, कामकाज ठप्प पार्ने चेतावनी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ चैत । पर्सा जिल्ला ठोरी गाउँपालिकाको कार्यालय सारिएकोमा स्थानीयले विरोध जनाएका छन् । आइतबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ठोरी सुवर्णपूर संघर्ष समितिले विरोध गरेको हो ।

राज्य पुनसंरचना आयोगद्धारा नै सुवर्णपुर स्वापनबाट सेवा दिदै आएकोमा हाल आएर गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले कथित गाउँसभाको नाममा उपाध्यक्ष र वडाध्यक्षहरु लगायतका जनप्रतिनिधीहरुलाई समेत वेवास्ता गरि एकल ढंगले घ्याङ डाँडामा ठोरी गाउँपालिकाको कार्यालय सेवा केन्द्र सार्ने प्रयत्न गरिएको भन्दै समितिले त्यसको विरोध गरेको हो ।

निर्णयको विरुद्ध ठोरी सुवर्णपूर संघर्ष समिति गठन गरी यथास्थानमा गाउँपालिका कार्यालय स्थापना गरियोस् भनी संघर्षका कार्यक्रम गर्दै आइरहेको छ । समितिका अध्यक्ष जरी लामाले गाउँपालिका अध्यक्षले अवैधानिक ढंगले गाउँसभा राखेर कार्यालय सार्ने निर्णय गराएको आरोप लगाए । ‘एकैदिनमा दुईवटा गाउँसभा राखेर अन्य जनप्रतिनिधीहरुको वेवास्ता गर्दै षडयन्त्रपूर्वक ढंगले कानुनविपरित गरिएको निर्णय हामीलाई मान्य छैन’, लामाले भने ।

निर्णय तत्काल फिर्ता लिई जनतासँग माफी नमागेसम्म संघर्ष नरोकिने लामाले बताए । सुवर्णपुर काठमाण्डौ संघर्ष समन्वय समितिका संयोजक खड्ग श्रेष्ठले जनताको लोकतान्त्रिक अधिकारको हनन् गर्दै अधिनायकवाद लाद्ने काम गाउँपालिका अध्यक्षले गरेको आरोप लगाए ।

सम्पूर्ण जनता, नागरिक समाजलगायतका सरोकारवाला संस्थाहरुले समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने श्रेष्ठले बताए । ठोरी गाउँपालिकाको कार्यालय सार्ने कामले अन्यत्र पनि निरन्तरता पाउन सक्ने भन्दै ठोरी गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिनले गाउँपालिका अध्यक्षले मनोमानी तरिकाले केन्द्र सार्ने निर्णय गरेको आरोप लगाए ।

संघर्ष समितिले निर्णय नसच्याएसम्म अनिश्चितकालिन रुपमा गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी समेत दिएको छ ।