२२ कार्तिक २०८३, आइतबार

सार्वजनिक सुनुवाइमा कालिकाका मेयरले भने-स्थानीयको समस्या समाधान गर्न प्रतिवद्ध छु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: शिशिर सिंखडा/चितवन

चितवन, ९ चैत । चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाले गरेको विकास निर्माण लगायतका विभिन्न विषयहरुको बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यले शुक्रबार सार्वजनिक सुनुवाई गरिएको थियो ।

नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले स्थानीयको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको भन्दै श्रेष्ठले सडक, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा भईरहेको कामको समेत जानकारी गराएका थिए । नगरपालिकाभित्र रहेको चुनखानीको समस्या, सुकुम्बासी, अव्यवस्थित वस्तीको समस्या, खोला तटबन्धन, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा नगरपालिका चनाखो भएर समस्या समाधान गर्न लागिपरेको उनले बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले नगरको कुल बजेटको ३० प्रतिशत काम सम्पन्न भईसकेको बताए । नगरको कुल बजेट ४८ करोड ७३ लाख ९ हजार २ सय ११ रुपैया ४४ पैसा मध्ये १४ करोड ८५ लाख ६२ हजार ४ सय ६० रुपैया ८९ पैसा बराबरको कार्य सम्पन्न भई भुक्तानी समेत भईसकेको र ३३ करोड ८७ लाख ४६ हजार ७ सय ५० रुपैया ५५ पैसाको काम जारी रहेको उनले बताए ।

कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख बिनोद अर्यालले विभिन्न कार्यक्रममा भएका खर्चहरुको भुक्तानी दिँदा आवश्यक पर्ने भ्याट बील र पान बीलको बारेमा स्पष्ट पारेका थिए । सो सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले बाटो निर्माण, सिंचाई, ढल, फोहोर व्यवस्थापन, अव्यवस्थित वस्ती व्यवस्थापन, खानेपानी, चुनखानीको समस्या लगायतका विषयमा सुझाव दिँदै विभिन्न शीर्षकमा आगामी वर्ष बजेट विनियोजन गर्न समेत अनुरोध गरेका थिए ।