
काठमाडौँ, ८ चैत । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड स्थापना गर्न पहल लिने बताएका छन् ।
राजधानीमा अलैचीको विकासका लागि स्वायत्त निकाय (अलैचीविकास बोर्ड) स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री खनालले अलैची विकास बोर्ड स्थापनाका निम्ति मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रिपरिषद्मा लैजान पहल गर्ने बताएका हुन् । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजानपहल गर्छु’ मन्त्री खनालले भने ।
यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउँदै मन्त्री खनालले अलैची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिए ।
अलैची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउँदै भन, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’
सम्बोधनका क्रममा उनले उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले अध्ययन गरेर विषादीलाई नियन्त्रण गर्ने उपायहरुको अवलम्बन गर्ने बताए ।















प्रतिक्रिया