– मिना बुढाथोकी
सल्यान, ७ चैत । निरन्तर रुपमा भइरहेको वनको बिनासलाई रोक्न सल्यानमा एक सामुदायिक वन समितिले अभियान थालेको छ । जिल्लाको शिद्द कुमाख गाँउपालिका–३ ढोरचौरको एक सामुदायिक वनले वन जोगाउन उपभोक्ताका घर घरमा ग्याँस चुलो वितरण गरेको छ ।
सित्तैमा एउटा ग्यास चुलो र भरिएको ग्यास सिलन्डर पाएपछि उपभोक्ता हर्षित भएका छन् । धुँवामा बसेर खाना पकाउदा विभिन्न खाले रोगहरुले आक्रमण गर्ने भन्दै धुँवा रहित चुलो पाएकोमा खुशी लागेको उपभोक्ता मेघी सुनारले बताइन् । यस्तै अर्का उपभोक्ता हिमा बुढाथोकीले पनि अब खान पकाउनका लागी दाउरा ल्याउन जंगल जान नपर्ने भन्दै खुशी व्यक्त गरिन् ।
वन जंगल जोगाउने उद्देश्यले ढोरचौरको दुवेरीचौर सामुदायिक वन समितिले १ सय १५ घर धुरीलाई ग्याँस चुलो वितरण गरेको जनाएको छ । दुवेरीचौर सामुदायिक वन समितिका अध्यक्ष चेतकान्त न्यौपानेले वन उपभोक्ताका घरमा एक सेट ग्याँस चुलो र एक वटा भरिएको ग्याँस सिलिन्डर उपलब्ध गराएको बताए ।
जथाभावी रुपमा भइरहेको वन फँडानी न्युनीकरणका लागी वन समितिले यस्तो कामको शुरुवात गरेको उनले बताए । दैनिक रुपमा खाना पकाउन तथा गाई वस्तुलाई दाना पकाउनेलगायतका प्रयोजनका लागी वर्षेनी रुपमा वनमा रहेको ठुला ठुला रुखहरु काट्नु पर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘वन फँडानी हुने त्यो क्रमलाई हाम्रो यस अभियानलले केही हद सम्म न्युनिकरण गर्ने हामीले विश्वास लिएका छौँ ।’
उपभोक्ताहरुलाई यसरी ग्याँस चुलो वितरण गरेपछि अब वर्षेनी रुपमा कटान भई रहेका रुखहरु काट्न नदिने समितिले निर्णय गरेको उनले बताए । ‘हामीले गत वर्ष इलाका वन कार्यलय थारमारेबाट प्राविधिक बोलाएर उपभोक्ताहरुलाई काटछाँटको तालीम दिएर रुख काटछाँट गर्न लगाएका हौँ’ उनले भने, ‘जस्ले गर्दा अहिले सामुदायिक वन भित्रका रुखहरु हराभरा र व्यवस्थित देख्न सकिन्छ ।’
जंगललाई हराभरा र व्यवस्थित बनाउनका लागी सो समितिले आगामी दिनहरुमा पनि विभिन्न योजना बनाएर अगाडी बढ्ने बताएको छ । उपभोक्ताहरुलाई डढेलो न्युनिकरण, अग्नि रेखा नियन्त्रण प्रयोगलगायतका तालीमहरु संचालन गर्ने वन उपभोक्ता समितिले जनाएको छ । समितिले गरिब, विपन्न, पिछडिएका उपभोक्तालाई मध्य नजर गर्दै ग्याँस चुलो वितरण गरिएको बताएको छ ।












प्रतिक्रिया