
काठमाडौँ, ७ चैत । आकस्मिक रुपमा विभागीयमन्त्री निरीक्षणमा पुगेपछि झस्किएका महानगरीय प्रहरी वृत्त अनामनगरका प्रहरी जवानहरु आफ्नै मेसमा खाना खाने भनेपछि एकछिन अलमलिए । खाना खाइरहेका प्रहरी जवानहरु एकछिन मुखामुख गर्न थाले । मन्त्रीलाई देखेपछि खाना खाइरहेकै बेला हतार हतार उठ्न खोजे । तर, गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरुलाई बस्न अनुरोध गर्र्दै बरु उल्टै सोधे,-हामीलाई पनि खाना पुग्छ ? पुग्छ भने पस्किनुहोस्, हामी पनि खान्छौँ ।’
घटना बुधबार बिहानको हो । गृहमन्त्री थापा बिहान नख्खु कारागार, जावालखेल प्रहरी वृत्त र पुल्चोक प्रहरी प्रभागको अनुगमनपछि सिंहदरबारमा आयोजना गरिएको कार्यक्रमका लागि फर्किए । तर, समय झण्डै पौने घण्टा बाँकी थियो । त्यसपछि उनी बिनाजानकारी महानगरीय प्रहरी वृत्त अनामनगर पुगेका थिए ।
गृहमन्त्री थापाले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गरे । सबै निरीक्षण सकेपछि उनी मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यसपछि उनले त्यहाँ प्रहरी जवानहरुसँगै बसेर खाना पनि खाए । उनले साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रहरी जवानले सँगै खाना खाएका थिए ।
प्रहरी वृत्तका प्रमुख डिएसपी अपिल बोहराले पनि मन्त्री थापासँगै खाना खाए । दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानामा पाकेको थियो । त्यसपछि वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उनले जनताको जिउ, धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गरे ।
सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफू जानकार रहेको भन्दै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वृत्तका प्रमुख डीएसपी बोहोराले बृत्तबारे गृहमन्त्रीलाई बिफ्रिङ गरे ।












प्रतिक्रिया