
-मिना बुढाथोकी/दैनिक नेपाल
सल्यान, ६ चैत । सल्यानका १ सय १४ विद्यार्थी एसईई परीक्षा दिनबाट वञ्चित भएका छन् । विद्यालयमा हाजिरी नपुगेका कारण उनिहरुले एसईई परिक्षा दिन नपाउने भएका हुन् । जिल्ला शिक्षा कार्यालय सल्यानले शिक्षा नियमावली अनुसार ती विद्यार्थीहरुले चैत ८ गतेबाट सुरु हुने परीक्षामा सहभागी हुन नपाउने जनाएको छ । परीक्षामा समावेश हुनको लागि राजस्व जम्मा नगरेका, पचहत्तर प्रतिशत हाजिरी नपुगेका ५४ जना छात्र र ६० जना छात्राहरु यस बर्षको एसईई परीक्षा दिन अयोग्य भएका हुन् ।
यस बर्षको एसईई परिक्षामा जिल्लाभरी बाट ४ हजार ७ सय ६३ जना बिद्यार्थीहरु सहभागी हुदैँ छन् । जसमा नियमित तर्फ छात्र १ हजार ९ सय ८२ र छात्रा २ हजार ५ सय ५५ गरी ४हजार ५ सय ३७ र एक्जाम्टेड तर्फ छात्र ९० र छात्रा १ सय ३६ गरेर २ सय २६ जना सहभागी हुन लागेको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ ।
चैत ८ गते देखी शुरु हुने परीक्षा चैत १७ गते सकिने छ भने प्राबिधिकतर्फको चैत २० गते सकिने छ । यस बर्षको एसईईमा प्राविधिकतर्फ ९४ जना र खुला बिद्यालय बाट २९ जना विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन ।
जिल्लामा यस वर्ष २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस्तै आंशिक विद्यार्थीहरुको लागि त्रिभुवन जनता माद्यामिक विद्यालय भोटेचौर केन्द्र निर्धारण गरिएको छ । माद्यामिक तहका ७८ बिद्यालय सहभागी हुने यस परीक्षामा सबैभन्दा धेरै शिवजन माद्यामिक विद्यालय शितलपाटीमा ३ सय ३७ र सबैभन्दा कम भानुभक्त माद्यामिक विद्यालय दमाचौरमा १ सय ३९ जना विद्यार्थीहरु सहभागी हुदैँ छन् ।
यस बर्षको एसईईमा सरसस्वती माबि शिवरथ बाट २ सय ४ जना र सबै भन्दा कम लङग्रिन ईवो सल्लीबजार बाट ११ जना तथ बोर्ड फयूचर एकेडेमी त्रिबेणी बाट ११ जना परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ ।
‘परीक्षाको लागी आबश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तीका लगाएतका सामाग्रीहरु सम्बन्धित परीक्षा केन्द्रमा पठाई सकिएको छ, केन्द्राध्यक्षलाई नियुक्ति तथा अभिमुखिकरण कार्य सम्पन्न भैसकेको छ जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले भने –‘महिला केन्द्राध्यक्ष समेत छनौट गरिएको छ ।’
परीक्षा केन्द्रहरुमा परिक्षार्थीहरुलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित रहन र जानेको कुरा ढुक्कका साथ लेख्न सक्ने वातावरण सृजना गर्नुका साथै परीक्षा केन्द्रहरुमा विद्यार्थीहरुलाई डर, त्रास नभई स्वागत गर्ने व्यवस्थाको लागि केन्द्राध्यक्षलाई निर्देशन दिएको उनले बताए ।
साथै प्रश्नपत्रको गोपनियता भंग गरेमा, परीक्षा केन्द्रमा अनैतिक कार्य गरेमा, अरुको तर्फ बाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भंग हुने कुनै कार्य गरेमा शिक्षा ऐन अनुसार कारवाही गरिने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ ।












प्रतिक्रिया