१३ कार्तिक २०८३, शुक्रबार

बोक्सी प्रथाविरुद्ध राधा

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ४ चैत । बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी बोक्सी प्रथाविरुद्ध लागेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीका नाममा झन्डै ६ घण्टा कुटाइमा परेकी कैलाली घोडाघोडी नगरपालिका–५ देवकलियाकी १८ वर्षीया राधा शुक्रबार आफू कुटिएको गाउँमा पुगेर बोक्सी प्रथाविरुद्धको अभियानमा लागेकी हुन् ।  राजधानी दैनिकले समाचार छापेको छ ।

स्थानीय भोलेबाबा भनिने रामबहादुर चौधरी, पार्वतीमाता भनिने किस्मती चौधरी, स्मारिका चौधरीलगायतले राधालाई दर्जनौं गाउँलेका अगाडि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस भएकी राधालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गरेर महिला पुनःस्थापना केन्द्र (ओरेक) को सेफ हाउसमा राखिएको छ ।

ओरेकको सेफ हाउसमा बस्दै आएकी राधालाई शुक्रबार साँझ उनलाई बोक्सी आरोपमा कुटपिट गरिएको देवकलिया गाउँमा लगेर सम्मान गर्नुका साथै स्थानीयलाई जनचेतनामूलक फिल्म ‘अग्निदहन’ देखाइएको थियो ।ठूलो संख्यामा उपस्थित भएका स्थानीयमाझ राधाले बोक्सी प्रथाजस्तो कूरीतिप्रथामा विश्वास नगर्न अनुरोध गरेकी थिइन् ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै’ भन्ने मूलमर्मसहित राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बोक्सी प्रथाविरुद्धको जनचेतना फैलाउन बोक्सी कथामा आधारित ‘अग्निदहन’ फिल्म देखाउन कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरे, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा राधाको गाउँ देवकलिया पुगेका थिए ।

राधा अध्ययनरत राष्ट्रिय उच्च माध्यमिक विद्यालयको प्रांगणमा ‘अग्निदहन’ देखाइएको थियो । कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा राधालाई अतिथि बनाएर नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
सुरक्षा अधिकारीसहित आफूलाई बोक्सी आरोपमा कुटिएको गाउँमा जाँदा राधाको अनुहारमा अझै डरत्रासजस्तो देखिएको उनीसँगै रहेका पत्रकार लक्ष्मी जैशीले बताए । ‘प्रमुख जिल्ला अधिकारी रिजाललगायतले सम्मान गरेपछि राधालाई आफ्ना भनाइ राख्न भनियो तर राधा केही बोल्न नसकेर एकोहोरो रूपमा रुन थालिन्,’ पत्रकार जैशीले भने, ‘त्यसपछि त्यहाँ उपस्थित सबैका आँखा पनि रसाए ।’

बोक्सी आरोपमा कुटिएकी राधाले आफू अबका दिनमा बोक्सी प्रथाजस्तो कुरीति प्रथा हटाउन सक्रिय भएर लाग्ने बताएकी छन् । उनले विश्व कहाँबाट कहाँ पुगिसक्यो तर अझै हाम्रो गाउँघरमा बोक्सी प्रथाजस्तो कुप्रथाले जरो गाडेर बसेको बताउँदै यो प्रथालाई हटाउन आफू कम्मर कसेर लाग्ने समेत बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कुरीति, कुसंस्कार रोक्न सबैले लाग्नुपर्ने बताउँदै धर्म र परम्पराको नाममा विशेष गरेर महिलाहरूमाथि हिंसा हुनेगरेकाले अब त्यस्ता प्रथा रोक्नुपर्ने बताए ।
कुटपिटको घटना हुँदैगर्दा रोक्नुको सट्टा टुलुटुलु हेरेर बस्ने र ताली पिट्ने, भोलेबाबा र पार्वतीको नाममा ठगी गर्नेलाई समर्थन गर्ने पनि दोषी रहेको प्रजिअ रिजालको भनाइ थियो । घटनामा संलग्न कसैलाई नछोड्नेरिजालले बताए ।
बोक्सी आरोपमा राधालाई निर्घात कुटपिट गरेको आरोपमा मुख्य अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सहयोग गर्ने पार्वतीमाता भनिने किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रकाश चौधरी, चनकला चौधरी र सीतारानी चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरिसकेको कैलालीका प्रहरी प्रमुख एसपी पिनोद घिमिरेले बताए ।