१३ कार्तिक २०८३, शुक्रबार

पाचौँपटक मन्त्री बने पोखरेल, मगर प्रचण्डकी बुहारी

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । ओली सरकारमा माओवादीबाट राज्यमन्त्रीसहित ६ मन्त्रीले शपथ लिएका छन् । शक्तिबहादुर बस्नेत वन तथा वातावरण, वर्षमान पुन जलस्रोत तथा ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, चक्रपाणि खनाल कृषि, भूमि व्यवस्थापन तथा सहकारी र विना मगर खानेपानीमन्त्री बनेका छन् । रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छिन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

खनाल र मगरलाई पहिलो अवसर

मन्त्री चक्रपाणि खनाल र विना मगर पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरूको संसद्मा पनि पहिलो उपस्थिति हो । दोस्रो संविधानसभामा दुवैजना पराजित भएका थिए । खनाल माओवादी युद्धमा सैन्य क्षेत्रमा लामो समय काम गरेका, तर शान्तिप्रक्रियामा आएपछि अवसर नपाउने नेतामा पर्छन् । मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।

पाचौँपटक मन्त्री बने पोखरेल

शिक्षा, युवा तथा खेलकुदमन्त्री गिरिराजमणि पोखरेललाई पाँचौँ अवसर मिलेको छ । पोखरेल यसअघि चारपटक मन्त्री बनिसकेका नेता हुन् । माओवादीबाट सत्तामा धेरै अवसर पाउने निकै कम नेतामा उनी पर्छन् । उनी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

पुन र बस्नेत तेस्रोपटक मन्त्री

ऊर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत तेस्रोपटक सत्तामा उक्लिएका हुन् । ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका उनी ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । बस्नेत भने ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री र ०७२ मा केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।