काठमाडौँ, २ चैत । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृति गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिसालको राजीनामा स्वीकृति गरेको हो ।
साथै सोही बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।
प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत भएको बैंकले दाबी गरेको छ ।
साथै बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर १० लाखभन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ सेवा प्रदान गरिरहेको छ । न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ सेवामा उत्कृष्टता हासिल गर्ने बैंकको विश्वास रहेको बताएको छ ।















प्रतिक्रिया