
-मिना बुढाथोकी/दैनिक नेपाल
सल्यान, १ चैत । सल्यान त्रिवेणिमा विभिन्न योजनाको रकम भुक्तानिका लागि दाङ जानुपर्ने बाध्यता रहेको गुनासो आएको छ । त्रिवेणि–१ काभ्राको रामबजारमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले त्रिवेणी गाउँपालिकावासीले सञ्चालन गरिएका योजनाहरुमा बजेट पर्याप्त नभएको गुनासो देखि शिक्षकहरुको तलव मासिक रुपमा भुक्तानि हुनुपर्ने माग राखेका हुन् ।
कार्यक्रममा त्रिवेणी २ का गंगाराम पुनले योजनाको रकम लिन तुलसिपुर जानुपरेको बाध्यता सुनाए । जवाफमा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले आफूले लुहाम स्थित राष्ट्रिय बाणिज्य बैंकमा नै खाता सञ्चालन र रकम भुक्तानिका लागि प्रक्रिया अगाडी बढाएको भएपनि इन्टरनेट अभावमा बैंकले समयमा सेवा दिन नसक्दा उपभोक्ता समितिलाई दाङ या खलंगा जानुपर्ने बाध्यता रहेको बताए । तर अव इनटरनेटको विस्तार तत्काल हुन लागेकोले यो समस्या हट्ने बताए ।
त्रिवेणीको वडा नम्बर १, २ र ३ लाइ लक्षित गरेर आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्नो कामको मुल्यांकन हुनुपर्ने माग राखेका थिए । यस्तै गाउँपालिकाले हरेक बजेट, तथा नियम बनाउँदा सबैको सल्लाह लिनुपर्ने, एकलौटी ढंगले निर्माण उपभोक्ता समिती गठन हुन नहुने र विकास निर्माणका कामको प्रभावकारी अनुगमन हुनुपर्ने जस्ता सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष डाँगीसँगै उपाध्यक्ष तथा न्यायिक समितीका संयोजक करुणा खड्का, प्रमुख प्रशासकिय अधिकृत रेमन्त डागी, वडा नम्बर १ का अध्यक्ष छविलाल खत्री, २ का अध्यक्ष मेघराज रोका, ३ का अध्यक्ष हुकुम प्रसाद महतारा, योजना शाखाका प्रमुख गोपाल केसी र विभिन्न विषयगत कार्यालयका प्रमुखहरुले सहभागीले उठाएका जिज्ञासाका जवाफ दिदै गुनासो सम्बोधन गर्ने प्रयास गरेका थिए ।












प्रतिक्रिया