–मिना बुढाथोकी
सल्यान, ३० फागुन । अवैधानिक रुपमा नागरिकता बनाएकोे भन्दै सल्यानमा दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । अभिभावकको नाम खुलाउन असहज मानी अभिभावकको नाममा अर्कैको नाम राखेर नागरिकता बनाउन खोज्ने दुई जनालाई प्रहरीले गिरफ्तार गरि अनुसन्धान थालेको हो ।
अवैधानिक रुपमा नागरिकता बनाएको भन्दै दुवै जनाको नागरिकता रद्द हुने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । शारदा नगरपािलका–१३ निवसी भन्दै ३० वर्षीया पार्वती बस्नेतले नागरिकता बनाउदा आमाको नाममा सोही गाँउको नातेदार महिलाको नागरिकता मागेर पेश गरेको थाहा भएपछि नागरिकता रद्द गर्न लागिएको उनले बताए ।
आमा बुवा नभएको बताउदै पार्वतीले आफ्नो पतिको नामबाट नागरिकता बनाउन खोज्दा आमाको नागरिकता पेश गर्नुपर्ने भएकाले शारदा नगरपािलका–१३ कै दानी बुदाथोकीको नागरिकता मागेर पेश गरेको घिमिरेले बताए ।
शारदा नगरपािलका–१३ का वडा अध्यक्ष तुल्सीराम रावतले गरेको सिफारिसका आधारमा पार्वतीले यही आर्थिक वर्ष २०७४ पुष १९ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी थिईन् । पछि घटनाबारे थाहा पाएपछि वडा अध्यक्ष स्वयंले यस विषयमा प्रहरीलाई खबर गरेका थिए ।
यस्तै शारदा नगरपालिका–१ का विशाल बुढाथोकीको पनि नागरिकता रद्द हुने प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । बुढाथोकीले पनि आमाको नामको नागरिकताको साटो गाँउकै नातेदार महिला सीता बुढाथोकीको नागरिकता पेश गरेको खुल्न आएपछि नागरिकता रद्द गरिएको उनले बताए । विशालले गत आर्थिक वर्ष २०७३ पुष १३ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।












प्रतिक्रिया