– मिना बुढाथोकी
सल्यान, २७ फागुन । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ श्रीचौरमा एक दर्जन भन्दा बढि घरगोठमा आगलागी भएको छ । शनिबार दिउसो जंगलबाट सल्केको आगोले नजिकैको गाँउको दर्जन बढि घरगोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आगलागीबाट ८ घर र ८ वटा गोठ पुर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट मोहन केसी, चक्र बहादुर दमाई, खेमलाल विष्टलगायतका १६ घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामका सई लक्ष्मण डांगीले बताए ।
घरमा आगो लाग्दा मानविय क्षति नभएपनि घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडाँ पुर्णरुपमा जलेर नष्ट भएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । उनका अनुसार मानविय क्षति नभएपनि घर र गोठ भित्र रहेका सामाग्री जल्दा लाखौँको क्षति भएको छ ।
आगलागीको कारण भने खुल्न नसकेको र गाउँमा लागेको आगोलाई स्थानीय जनप्रतिनिधि, स्थानीयबासी, प्रहरीलगायतको सक्रियतामा नियन्त्रणमा लिएको उनले बताए । आगलागीबाट घरगोठ पुर्ण रुपमा क्षति भएपछि ८ घरपरिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसी रहेको र पिडितलाई छिमेकीबाट खाना र लत्ता कपडाको व्यवस्था मिलाइ दिएको गाउँपालिका अध्यक्ष केसीले बताए ।












प्रतिक्रिया