१३ कार्तिक २०८३, शुक्रबार

मुग्लिन-नारायणगढ सडक वर्षा नलाग्दै सकिने

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नारायणगढ-मुग्लिन सडक स्तरोन्नति कार्य असारसम्म सक्ने गरी कामलाई तीव्रता दिइएको छ। पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको आयोजनाले जनाएको छ ।

निर्माणलाई तीव्रता दिन रातको समयमा हरेक दिन ६ घण्टाका लागि उक्त सडकमा यातायात आवागमन बन्द गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटो बनाउन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको जानकारी दिए। राति बाटो बन्द गरेर सडक विस्तारका लागि पहाडको चट्टान कटान गर्न सुरु गरिएको छ ।

सोह्र किलो, घुमाउने र चेपाङडाँडा गरी तीन ठाउँमा आठ सय मिटर चट्टान कटानको काम सुरु गरिएको छ। पुस १३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले राति ६ घण्टा सडक बन्द गरी निर्माण सुचारु गर्ने निर्णय गरेको थियो। करिब ३३ किलोमिटर सडकमध्ये ६९ प्रतिशत काम सम्पन्न भइसकेको छ।

आयोजनाका सूचना अधिकारी खनालले दिउँसो यातायातको चाप बढी हुने भएपछि राति बाटो बन्द गरेर चट्टान कटान गर्न लागिएको बताए। ‘बाटो बन्द नगरी चट्टान कटान गर्न नमिल्ने भयो’, खनालले भने, ‘रातिको समयमा हेर्छौं, यसबाट राम्रो भए निरन्तर हुन्छ, नभए अर्को उपाय लगाउँछौं।’ चैत मसान्तसम्म पहिलो चरणको कालोपत्रे सक्ने उनले बताए। चालु आर्थिक वर्षमा सबै काम सक्ने उनले बताए।

साउन १७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले र तीन साताअघि मात्र मुख्यमन्त्री डोरमणि पौडेलले सडक अनुगमन गरेका थिए। प्रधानमन्त्री देउवाको स्थलगत निरीक्षणयता करिब १६ प्रतिशत काम भएको छ। चाडपर्व र निर्वाचनको कारण कामको प्रगति हुन नसकेको आयोजनाले जनाएको छ।

चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले निजी सवारीलाई १० बजे बन्द गरे पनि मालवाहक साधनलाई एक घण्टाअघि नै रोक्ने बताए। उनका अनुसार रामनगरको भतेरी र मुग्लिनतर्फ लेवाटारमा मालवाहक साधन रोकिनेछ। ‘१० बजे कटेका साधन एक घण्टामै कटान क्षेत्र कट्ने गरी व्यवस्थापन मिलाएका छौं’, उनले भने।

सडक निर्माणको जिम्मा तीनवटा कम्पनीले लिएका छन्। आँपटारीदेखि दासढुंगासम्म बीएलए एससीसी जेभी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेभी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेभीले जिम्मा लिएका हुन्। अहिलेसम्म १४ किलोमिटर कालोपत्रे गरिएको छ।