२२ कार्तिक २०८३, आइतबार

निमित्त प्रमुखका भरमा दुई महानगर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । दुई महानगरपालिका अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

वीरगञ्ज र विराटनगर महानगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट कामकारवाही भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्र थापाले बताउनुभयो ।

महानगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत हुनका लागि सहसचिवको व्यवस्था भए पनि ती दुईमा भने प्रमुख प्रशासकीय अधिकृत उपसचिव तहका छन् । मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग ती दुई महानगरका लागि पटक पटक सहसचिव माग गरे पनि पाउन सकेको छैन । विराटनगरमा उपसचिव प्रदीपकुमार निरौला र वीरगञ्जमा गोपालप्रसाद रेग्मीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहनुभएको छ ।

पहिले उपमहानगरपालिका रहेका ती दुईलाई स्तरोन्नति गरेर महानगर बनाइएदेखि नै उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् । शाखा अधिकृत थापाले ती दुई महानगरमा सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको बताउनुभयो ।

उपमहानगर र नगरपालिकामा भने उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था गरिएको छ । काठमाडौँमा धनीराम शर्मा, ललितपुरमा हरिप्रसाद दाहाल, चितवनमा प्रेमराज जोशी, पोखरामा दीर्घनारायण पौडेल सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । –रासस