३ कार्तिक २०८३, मंगलबार

मनोज पुनको ईन्काउन्टरपछि एमालेभित्र खैलाबैला, भट्टराईसँग सोधियो स्पष्टीकरण

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । दैनिक नेपाल डटकमको एक लेखलाई आधार बनाएर नेकपा (एमाले) रुपन्देहीका सचिवालय सदस्य तथा पत्रकार सिद्धिचरण भटराईलाई जिल्ला कमिटीको बैठकले स्पष्टीकरण सोधेको छ ।

गुण्डा नाईके मनोज पुन मारिएपछि डनको राजनीतिक संरक्षणबारे पत्रपत्रिकामा बहस चलिरहेका बखत आएको भटराईको उक्त लेखले एमालेको एउटा पंक्ति झस्किएको हो ।

गोप्यता खुल्ने डरले राजनीतिका खेलाडीकै ईशारामा प्रहरीले मनोजलाई मारेको वा दोहोरो भिडन्तमा मारिएको भन्ने दुईथरी आशंकाहरू भइरहेको स्थितिमा भट्टराईले मनोज पुनलाई विगतमा आफ्नै पार्टीका ठेक्कापट्टामा संलग्न नेताकै संरक्षण भईरहेको तथ्य सार्वजनिक गरेका थिए ।

भट्टराईले लेखमा चुनावी समीक्षा कार्यक्रममा भएको आक्रमण र स्थानीय तहमा भएको असहयोग वा अन्तर्घातको प्रतिशोध लिइएको त होइन ? भनेर प्रश्न पनि उठाएका थिए ।

मनोज पुनले दुर्गा तिवारी र बसन्त पौडेलको हत्यापछि अबको पालो पत्रकार तथा एमाले नेता सिद्धिचरण भटराईको भनेर लक्षित गरेको कुरा रुपन्देहीमा सार्वजनिक भईरहेको थियो ।

युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि पनि समाज, अपराध र राजनीतिबारेको भटराईको लेख यसै अनलाईनमा प्रकाशित थियो । युवा संघ र पार्टी राजनीतिमा डनहरूलाई स्थान दिन नहुने विषयमा लामो समयदेखि विचार राख्दै आएका भटराई लुम्बिनी अञ्चलमा आलोचनात्मक चेतका साथ विचार प्रस्तुत गर्ने लेखकका रुपमा चिनिन्छन् । सिद्धिचरण भटराई दुर्गा तिवारी स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

स्रोतका अनुसार, हिमाल खबर पत्रिकाका सम्वाददाता मुकेश पोखरेलले देवदह नगरपालिकाका एमालेका मेयरका प्रत्यासी टीकाराम चापागाइँसंग मनोज पुनको कनेक्सन रहेको प्रहरी स्रोतलाई आधार बनाई गरिएको रिपोर्ट लिएर पोखरेललाई पनि स्पष्टीकरण सोधिएको छ ।

पोखरेल र भटराईबिरुद्ध टीकाराम चापागाइँ र डोलराज चापागाइँले पार्टीमा उजुरी दिएको बैठकमा सहभागी जिल्ला कमिटी सदस्यले दैनिक नेपाल डटकमलाई बताएका छन ।

भटराईलाई यसबारे जिज्ञासा राख्दा ‘पार्टीले पत्र दिएको तर, यसबारे पार्टीकै बैठकमा कुरा राख्ने, मिडियामा हाल केही नबोल्ने’ प्रतिक्रिया दिएका छन् ।

भटराई मदन भण्डारी अध्ययन केन्द्र रुपन्देही अध्यक्ष तथा नेपाल भूमिहीन सुकुम्वासी संगठनका केन्द्रीय सचिव हुन् । उनी यसअघि एमालेलाई गणतन्त्र र संविधान सभामा ल्याउने खालका लेख सार्वजनिक भए वापत ०५८ सालमा पार्टीबाट निष्काशित भएका थिए ।

उनको ०५९ सालमा संविधान सभा किन र कसरी भन्ने पुस्तक प्रकाशन भएको थियो । एमालेको सातौँ महाधिवेशनमा संविधान सभाको किताव बेचेर अभियान चलाउन पुगेका भटराई रुपन्देही कै केही नेताले पुस्तक बेच्न समेत प्रतिवन्ध लगाएका थिए ।

भटराईले माओवादी–एमालेवीच एकता हुनुपर्ने तर्क राख्दै जबज र एक्काइशौँ शताब्दीको जनवादको संश्लेषण गरी ०६४ सालमा जबज र प्रचण्डपथ नामक पुस्तक प्रकाशित गरेका थिए ।

आज दुई पार्टी एक भएको परिस्थितिमा उनलाई रुपन्देहीको राजनीतिमा कमजोर पार्न गुटगत पूर्वाग्रहका कारण कारवाही गर्न निउँ खोजिएको एमाले रुपन्देहीका एक सदस्यले दैनिक नेपाललाई बताए ।