३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली जब अलमलमा परे…

64.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, २० फागुन । प्रतिनिधि सभाका सांसदहरूलाई जेष्ठ सांसद सदस्य महन्थ ठाकुरले निर्धारित समयभन्दा ३५ मिनेट ढिला पद तथा गोपनीयताको शपथ दिएका छन् ।

कीर्ते काण्डमा आरोपित पूर्वडिआईजी एवम् एमालेका सांसद नवराज सिलवालले पद तथा गोपनीयताको शपथ लिए । तर, टीकापुर काण्डमा आरोपित राजपा नेपालका सांसद रेशम चौधरीले भने शपथ लिन पाएनन् ।

शपथका बेला संसदमा जे देखियो

– सांसदहरू एक बजेदेखि नै संसद भवनको गेटबाट भित्र प्रवेश गर्न सुरु गरेका थिए ।

– प्रधानमन्त्री केपी ओली, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू तोकिएको समयभन्दा केही अगाडि नै संसद भवन प्रवेश गरेका थिए ।

– शपथको कार्यक्रम ४ बजे भनिए पनि औपचारिक कार्यक्रम ४ बजेर ३५ मिनेटमा सुरु । आफूले मैथली भाषामा शपथ लिए पनि महन्थ ठाकुरले सांसदहरूलाई नेपाली भाषामा शपथ दिलाएका थिए ।

– संसद भवनभित्र सांसदहरूको सेल्फी र फोटो सेसन देखियो ।

– पहिलो लहरमा बसेका प्रचण्डभन्दा चार बेञ्च पछाडि बुहारी एवम् सांसद बीना मगर बसेकी थिइन् ।

– प्रधानमन्त्री केपी ओली केहीबेर अलमलमा परे । आफू बस्ने सिट थाहा नपाएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ओलीलाई बस्ने सिट देखाए ।

– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठक हलमा प्रवेश गर्दा कांग्रेसका सबै सांसदहरू उठेर सम्मान गरेका थिए ।

– कांग्रेस नेता तथा सांसद विजय गच्छदारले आफू बस्ने ठाउँ नपाउँदा केही समय अलमलमा परेका थिए ।

– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति देउवा बसेकै कुर्सीको दायाँतिर बसेका थिए ।

– माओवादी केन्द्र र एमालेका सांसदहरू अलग–अलग कुर्सीमा बसेका थिए ।

– एमालेका सांसदहरू पार्टीले तोकेको भेषभुषामा आएका थिए । केही सांसद जातीय पहिरनमा थिए ।

– शपथको कार्यक्रमपछि संसद भवनको परिसरमा चियापानको कार्यक्रम थियो ।

– चियापानमा लड्डू, केक, समोसा, बिस्कुट र चियाको व्यवस्था गरिएको थियो ।

– पूर्वडिआईजी एवम् एमालेका सांसद नवराज सिलवाल वरिष्ठ नेता माधवकुमार नेपालको गाडीबाट आए । जाने बेला आफ्नै गाडी चढेर गए ।

– शपथ लिएसँगै सांसदहरूको तलब, भत्ता आजैदेखि सुरु ।