का
ठमाडौँ, १७ फागुन । फागुपूर्णिमा अर्थात होलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै देश र सरकार प्रमुखले सामाजिक सद्भाव एवं राष्ट्रिय एकताका लागि कामना गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउने बताएकी छन् । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुसी र हर्षोल्लासपूर्वक रङमा रमाएर पर्व मनाउने गरेको उल्लेख गर्दै उनले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङ छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा सबैमा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेकी छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरेका छन्।
सन्देशमा उनले यस पर्वले संप्तरंगी जस्तै समृद्धिका विभिन्न आधारहरुको तीव्र विकासका माध्यमबाट प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ, ‘फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा उत्साह, उमंग ल्याओस्। सम्पूर्ण नेपालीमा हौसला प्रदान गरोस्। सबै समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सहयोग पुर्याओस् ।’
शुभकामना सन्देशमा उनले होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रुपमा लिइने पनि उल्लेख गरेका छन् ।















प्रतिक्रिया