२२ कार्तिक २०८३, आइतबार

मर्यादित रुपमा होली मनाउन चार धर्मगुरुको अपिल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः एएफपी

नेपालगन्ज, १७ फागुन । यहाँका धर्मगुरुहरुले होली पर्व मर्या्दित र शान्तिपूर्णरुपमा मनाउन अपिल गरेका छन् ।

बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गरेका हुन् ।

बिहीबार र शुक्रबार दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो । प्रजिअ रमेशकुमार केसीको नेतृत्वमा भएको छलफलमा होली पर्वलाई धार्मिक तथा सामाजिक सद्भावयुक्त बनाउने सन्दर्भमा छलफल भएको थियो ।

बैठकमा विशेषतः बाँके जिल्लामा मनाइने होली पर्व शुक्रबार परेको र शुक्रबार नै मुस्लिम धर्मावलम्बीको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विषयमा छलफल गरिएको थियो ।

यसैबीच, बुधबार बसेको बाँके जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा अवस्थाको समीक्षासमेत गरेको छ । प्रजिअ केसीको अध्यक्षतामा बसेको बैठकमा बिहीबार र शुक्रबार मनाइने होलीमा कुनै व्यवधान आउन नदिन अपनाउनुपर्ने सुरक्षा रणनीति पनि तय गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा जिल्लाका सबै सुरक्षा अंगका प्रमुखको उपस्थिति थियो । –रासस