१४ कार्तिक २०८३, शनिबार

अब पटक–पटक सडक भत्काउन दिइँदैन : मन्त्री पण्डित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले अब पटक–पटक सडक भत्काउन नदिने बताएका छन् । पटक–पटक सडक भत्काउँदा काठमाडौंमा प्रदूषणको मात्रा बढेको भन्दै सबै संयन्त्रलाई एकीकृत गर्दै एक साथ काम गर्ने रणनीति बनाउन सुरु गरेको उनले बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘कहिले सडक, कहिले विद्युत्, कहिले दूरसञ्चार र कहिले ढलले सडक भत्काइरहेका छन्,’ बुधबार कान्तिपुरसित कुरा गर्दै मन्त्री पण्डितले भने, ‘जहिले पनि भत्काउने र बनाउने चक्र अन्त्य गरिन्छ ।’

सडक भत्काएपछि महिनौं दिनसम्म त्यत्तिकै छाड्ने गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले काम सकिएपछि तुरुन्तै कालोपत्रे गर्ने व्यवस्था मिलाइने बताए । ‘भत्किएको सडकमा तीन–तीन दिनमा पानी हालेको रेकर्ड छ, हप्ता दिनसम्म एकपटक पनि पानी हालिएको छैन,’ उनले भने, ‘त्यसरी सरकारी रकमको दुरुपयोग गर्नेहरुलाई कारबाहीमा गरेरै छाड्छु ।’

बुधबार नै रत्नपार्कस्थित स्टेशनमा गएर प्रदूषण मापन यन्त्र अवलोकन गरेका मन्त्री पण्डितले प्रदूषणको अवस्था भयावह रहेको बताए । ‘राष्ट्रिय मापदण्डभन्दा ८ गुना बढी प्रदूषण रहेको पाइयो,’ उनले भने, ‘विकास निर्माणका कामहरुले धूलो उडाएको छ, गाडीको धूँवा, चिम्नीको धूँवा र उपत्यकाको छेउमै कतिपय ठूला–ठूला सिमेन्ट उद्योगबाट निक्लेको धूँवाले प्रदूषण बढायो ।’