दमक, १५ फागुन । झापामा तीनजना सडक बालकहरुको उद्धार गरिएको छ । दमकमा लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागुऔषध सेवन गर्दै आएका तीन जना बालकहरुलाई सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार गरेको हो ।
दमक ६ जेसिज चोक नजिकै सवाल नेपाल अनलाइनको कार्यालय अगाडि खाली ठाँउमा दिउसो १२ बजेतिर लागु औषध प्रयोग गरिरहेका बालकहरु देखिपछि उनीहरुको उद्धारका लागि सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेल र प्रबन्धक केदारबाबु पौड्यालले शुरुवाती पहल गरेका थिए । त्यसमा लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले साथ दिएका हुन् ।
लागु औषध प्रयोग गरिरहेका दमक १३ का दूइ श्रेष्ठ दाजुभाइको बुबाको केहि बर्ष अघि मृत्यु भएको र आमाले पनि अर्कैसँग विवाह गरेपछि साहारा विहिन भएको पाइएको छ । अर्का दर्जी बालकको आमा विदेश गएको र बुबा मिस्त्रि काम गर्दै गरेको बताएका थिए ।
लायन्स क्लव अफ माउण्ट एभरेष्ट र सवाल नेपाल अनलाइनको पहलमा उद्धारका लागि दमक नगरपालिका उपप्रमुख गीता अधिकारी उक्त स्थलमा नैे आएकी थिइन् । नगर उपप्रमुख अधिकारीले उनीहरुको अवस्था देखेर भावुक बन्दै राख्ने ठाँउको खोजी गरेकी थिइन् ।
तत्काल लागि राख्न दमकमा नै रहेको हेप्पी नेपाल सुधार केन्द्र तयार भएपछि उनीहरुलाई त्यहाँ लगिएको छ । उनीहरुको अवस्था अहिले सामान्य रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरी समेत उद्धार कार्यमा आएका थिए । दमकमा यस प्रकारका डेढ दर्जनभन्दा बढि बालबालिका रहेको गिरीले जनाए । उपप्रमुख अधिकारीले सबैलाई ३ महिनाभित्रमा उद्धार गर्न योजनाका साथ लागि पर्ने बताइन् ।
३ जनालाई सुधार गृहमा राखिएको र अरुलाइ पनि सुधार गृहमा राख्नका लागि आफूहरु सहयोग गर्न तयार रहेको लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष गौतमले बताए । उनले अरु सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर यस्ता बालबालिकाहरुको उद्धार गरिने उनको भनाइ रहेको थियो ।












प्रतिक्रिया