२२ कार्तिक २०८३, आइतबार

महिला कृषक समूहलाई प्रवासबाट युवाहरूको सहयोग

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, १३ फागुन । ‘हामी नयाँ युवाहरूको सोच, कृषिमा आर्थिक उन्नतिको खोज’ भन्ने नाराका साथ कपुरकोटका महिलाहरुले समूहमार्फत तरकारी खेती गर्ने भएका छन् । साबिकको सिनबाङ गाविस वडा नम्बर १ र वडा नम्बर २ कपुरकोट–६ सिनबाङ सल्यानमा समूह गठन गरेर तरकारी खेती गर्न लागिएको समूहका अध्यक्ष तिला वलीले बताइन् ।

कपुरकोटमा उत्पादन भएको तरकारी जिल्लामा मात्र नभई छिमेकी जिल्लाहरुमा पनि विक्री हुने गर्दछ । ‘विषादी रहित यहाँ उत्पादन भएका तरकारीको उत्पादन बढाउन हामी समूहमार्फत खेती गर्ने निर्णय गरेका छौँ’ समुहकी अध्यक्ष वलीले भनिन् ।

स्थानीय स्तरमा किसानहरुले अहिले आधुनिक कृषितिर आकर्षण बढ्न थालेको थाहा पाएपछि मलेसियामा रहेका कपुरकोट ६ सिनबाङ्का युवाहरूले आर्थिक सहयोग समेत उपलब्ध गराएका छन् । किसानहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विदेशमा रहेका युवाहरुले सो समूहलाई २० हजार ८ सय ८६ रुपैयाँ सहयोग गरेको छ ।

महिला कृषकहरुको तरकारी खेती तर्फको आकर्षण र उत्पादन बढाउने उद्देश्यले समूहलाई सो रकम उपलब्ध गराएको हो । समूहका प्रमुख सल्लाहकार लालबहादुर महताराले बताए । आधुनिक कृषि प्रबिधिसँगै अन्य सामाजिक कार्यमा यसै समूह मार्फत हातेमालो गर्दै काम गर्ने समुहकी सचिव नन्दा बस्नेतले बताईन् ।

स्थानीयस्तरमा किसानलाई आधुनिक कृषितिर प्रोत्साहित गर्ने उद्देश्यले आफूहरुले रकम संकलन गरि पठाएको हाल मलेसियामा रहेका युवा ताराप्रसाद एमसिले जानकारी दिए । कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यले तिला वलीको अध्यक्षतामा भर्खरै २१ सदस्यीय नव सिर्जनशील कृषक समुह गठन गरिएको छ । जसको उपाध्यक्षमा रिता महतारा, सचिवमा नन्दा बस्नेत, सहसचिवमा भिमा महतारा, कोषाध्यक्षमा प्रेम कुमारी महतारा चयन भएका छन् ।