२२ कार्तिक २०८३, आइतबार

विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १३ फागुन । डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । वर्षेनी पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।

प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकालाई गाउँपालिकाको लगानीमा विभिन्न प्राविधिक शिक्षा अध्ययन गर्नका लागि सहयोग पुर्‍याउने भागेश्वर गाउँपालिका अध्यक्ष कौशीकुमारी भट्टले जानकारी गराए ।

हरेक वर्ष गाउँपालिकाका उत्कृष्ट दुई र दलित, जनजाती र महिला कोटाबाट गरी पाँच जना बालबालिकालाई प्राविधिक शिक्षा अध्ययन गराउनका लागि गाउँपालिकाले लगानी गर्ने निर्णय गरेको अध्यक्ष भट्टको भनाइ रहेको छ । विपन्न परिवारका मानिसले २१औँ शताब्दीमा पनि आफ्ना बालबालिकाको इच्छा हुँदाहुँदै पनि गरिबीका कारण प्राविधिक शिक्षा अध्ययन गराउन नसकेको अवस्थामा गाउँपालिकाले पहिलो पटक उत्कृष्ट जेहेन्दार विपन्न परिवारका विद्यार्थीलाई करिब रु १० लाखको लगानी गरी उक्त शिक्षा पढाउनमा सहयोग गर्ने भागेश्वर गाउँपालिकाले बताएको छ । -रासस