
काठमाडौँ, ११ फागुन । प्रहरीले पूर्वका दुई जिल्लामा अवैध कारोबार गरि ठगी गर्ने विभिन्न तीन कम्पनीमा छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र १ नं. प्रदेश क्षेत्रीय अनुसन्धान टोलीले सुनरी र मोरङमा कानून विपरित वित्तिय कारोबार गरी स्थानीय जनताबाट ८ करोड रुपैयाँ भन्दा बढी अवैध बचत संकलन गरेका तीन कम्पनीमा छापा मारेको हो ।
सिआइबीले एक जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा न्यू आभाष फेन्सी स्टोर विराटनगरका ३८ वर्षका सिताराम लुइटेल रहेका छन् । उनको साथबाट नगद १० हजार रुपैयाँ समेत बरामद भएको छ । लुइटेलले स्थानीयबाट अवैधानिक रुपमा दुई करोड छयासी लाख आठ सय पच्चीस रुपैयाँ बचत संकलन गरेको सिआइबीले जनाएको छ ।
यसैगरी, ईटहरी–१२ खनार, सुनसरीमा रहेको गृहलक्ष्मी ईलेक्ट्रोनिक सप्लायर्समा पनि प्रहरीले छापा मारेको छ । यसका संचालक बाबुराम न्यौपाने फरार छन् । उनले स्थानीयबाट चार करोड पचीस लाख रुपैयाँ बचत संकलन गरेको सिआइबीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।
ओलियाका अनुसार पूर्णगिरी बचत ईन्भेष्टमेन्ट प्रा.लि. ईटहरी, सुनसरीमा पनि छापा मारिएको छ । जसका संचालक नरबहादुर विष्ट फरार छन् । उनले स्थानीयबाट एक करोड बीस लाख रुपैयाँ अवैध रुपमा बचत संकलन गरेको डिएसपी ओलियाले जानकारी दिएका छन् । तीन कम्पनीबाट प्रहरीले नगद जम्मा भौचर, बचत रजिष्ट्रर, ऋण रजिष्ट्रर, तमसुक कागज, पास बुक, भुक्तानी भर्पाई, सापटी फारम, करारनामा पत्र लगायतका सामाग्री समेत बरामद गरेको छ ।
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार अनुसन्धान भैरहेको सिआबीले जनाएको छ । केही दिनअघि मात्र सिआइबीले अवैध कारोबार गर्ने विभिन्न इन्भेष्ट कम्पनीका ८ जनालाई पक्राउ गरेको थियो ।















प्रतिक्रिया