
काठमाडौँ, ११ फागुन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने भएका छन् ।
सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी बिहीबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । आयोजनाको निर्माण लागत जम्मा रुपैया ५ अर्ब ५९ करोड रहेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ पुस १४ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७२ साल चैत्र २८ गते विद्युतत्पादन अनुमति प्राप्त गरेको छ ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् । आयोजनाको लागि सहभागी बैंक तथावित्तीय संस्थाहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानीमा लक्ष्मी बैंकको १ अर्व २४ करोड, कुमारी बैंकको १ अर्व, सेन्चुरी कमर्शियल बैंकको ७५ करोड, प्रभु बैंकको ४० करोड र जलविद्युत लगानी तथा विकास कम्पनीको ८० करोड रुपैयाँ रहेको छ ।
उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. ले झण्डै १७०.८४ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ ।















प्रतिक्रिया