
-रबिना बोहोरा/दैनिक नेपाल
बागलुङ, ७ फागुन । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–६ बिहुंकोटमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा अधिकांश महिलाहरुका समस्या देखिएका छन् । ग्रामीण भेगहरुमा बिशेषगरी महिलाहरुले आफूमा रहेका समस्यालाई कुण्ठित गरि राख्ने देखिएकाले समस्या पनि धेरै देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
सहज रुपमा उपचार पाउन नसकेकाहरुलाई लक्षित गरिएको शिविरमा बढी महिलाको पाठेघर खस्ने, सेतोपानी बग्ने लगायतका समस्या देखिएको महिला तथा स्त्री रोग बिशेषज्ञ डा. लक्ष्मी गौतमले बताइन् । काठेखोला गाउंपालिका–६ को आयोजना र धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारीद्वारा सञ्चालित निलगिरि अस्पतालको प्राविधिक सहयोगमा गरिएको निशुल्क शिविरमा महिला तथा स्त्री रोग बिशेषज्ञ डा. लक्ष्मी गौतम, धौलागिरी अञ्चल अस्पतालका सर्जन निरञ्जन अर्याल लगायत १५ जनाको टोलीले परिक्षण गरेको थियो । शिविरमा ३ सय भन्दा बढिले सेवा लिएका छन् ।
बिहुँकोटकी मनरुपा कंडेलले बिगतमा यस्ता शिविर नभएको भन्दै अहिले जनप्रतिनिधिहरुले महिलाहरुका बारेमा सोच्दा खुशी लागेको बताइन् । उनले घरको कामकाजका कारण स्वास्थ्यमा बढी ध्यान दिन नपाएको भन्दै गाउँमा नै भएको शिविरले आफूहरुलाई सहज भएको बताइन् ।
शिविरमा जाँच गर्न आएका २ जना महिलाहरुको पाठेघरको निःशुल्क अप्रेशन गरिने भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष युक्तप्रसाद कंडेलले महिलाहरु बढी घरको काममा व्यस्त हुने भएकाले स्वास्थ्यमा ध्यान नदिदा विभिन्न समस्या देखा परेको बताए । शिविरमा गाउँपालिकाका प्रमुख अमर थापाले ग्रामीण भेगमा रहेका महिलाहरुको स्वास्थ्य सुधारका लागि विभिन्न योजना ल्याउन आवश्यक रहेको बताए ।












प्रतिक्रिया