
काठमाडौँ, ५ फागुन । शिक्षा पत्रकार समूहले १८ औँ वार्षिकोत्सवका अवसरमा आज सार्वजनिक शिक्षामा योगदान दिने अभिभावक, शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
रुपन्देहीको त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा यादव, सिन्धुलीको कमला माविका व्यवस्थापन समिति सदस्य देवी खड्का सम्मानित भएन भने बुटवलका पत्रकार कृष्ण मल्लले रु बीस हजार राशिको ‘तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार’ प्राप्त गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सम्मान प्रदान गरेका हुन् ।
उपाध्यक्ष वाग्लेले शिक्षकको अनुपस्थिति र विद्यार्थी टिकाउनु शिक्षाको चुनौती रहेको बताए । पूर्वशिक्षामन्त्री धनीराम पौडेलले शिक्षामा कर्मचारी तलब र पूर्वाधारमा मात्र खर्च भइरहेको भन्दै अनुसन्धानात्मक काममा लगानी हुनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका नेता गगन थापाले शिक्षामा २० प्रतिशत लगानी नभएसम्म संविधानमा उल्लेखित शिक्षाको मौलिक हक पूरा नहुने बताए ।
नेकपा (एमाले) केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले संघीयतामा केन्द्र, प्रदेश र स्थानीय तहबीच अधिकार स्पष्ट बाँडफाँड नभएमा शिक्षा क्षेत्रमा अन्योल बढ्ने बताए । शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले प्रादेशिक संरचनामा शिक्षाको संरचनाबारे केही अन्योल भए पनि विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।
‘शिक्षक’ मासिकका सम्पादक राजेन्द्र दाहालले सार्वजनिक शिक्षाको सुधारमा शिक्षा पत्रकारिताले अझै वकालत गर्नुपर्ने बताए । कार्यक्रममा स्वर्गीय पत्रकार भुसालकी श्रीमती मुना भुसाललाई कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसनका तर्फबाट प्रिन्सिपल डा मञ्जु मिश्रले रु २५ हजार र समूहका तर्फबाट अध्यक्ष दीपक दाहालले रु ३७ हजार १९५ हस्तान्तरण गरिएको थियो । अधिवेशनले समूहको नयाँ नेतृत्व चयन गर्नेछ । -रासस












प्रतिक्रिया