एड्डीस अबाबा, ४ फागुन । इथियोपियाका प्रधानमन्त्री हैलेमारिअम डेसालेग्नले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
सन् २०१२ को अगष्टमा पूर्वप्रधानमन्त्री मेलेस जेनावीको निधन पछि ५२ वर्षीय डेसालेग्न प्रधानमन्त्री बन्नु भएको थियो ।
उहाँ सत्तरुढ दल इथोपीयन पिपल्स रेभोलुस्नरी डेमोक्र्याटीक फ्रन्ट (इपीआरडीएफ)को अध्यक्ष पनि हुनुहुन्छ ।
अबको नयाँ प्रधानमन्त्री को हुन्छ भन्ने बारेमा अहिलेसम्म केही स्पष्ट संकेत नदेखिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
इथोपियाको मध्य ओरोमिआ क्षेत्रीय राज्यमा भएको हिंसाका क्रममा नौ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूले बुधबार बेलुका दिएको जानकारीअनुसार ओरोमिआका विभिन्न ठाँउमा गरी अरू १३ जना घाइते भएका छन् ।
धेरै ठाँउमा बाटोहरू बन्द गरिएका छन् भने व्यापार व्यवसायहरू सामान्य अवस्थामा झै गर्न दिइएको छैन ।
इथियोपियामा सन् २०१६ देखि देशको धेरै ठाँउलाई प्रभावित पार्नेगरी हिंसात्मक घटनाहरू भइरहेका छन् । ती घटनाहरूमा परी सयौँको मृत्यु भएको छ ।
अत्यधिक धेरै जनसंख्या भएका तीन क्षेत्र अम्हारा, ओरोमिआ र दक्षिणी क्षेत्रीय राज्यमा यस्ता घटना बढी भएका छन् । – सिन्ह्वा















प्रतिक्रिया