
लापाज, २ फागुन । बोलिभियामा चलेको एक पर्व मनाउने क्रममा भएका विभिन्न दुर्घटनाहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको समाचार छ । त्यस उत्सवका क्रममा खासगरी सवारी दुर्घटनामा परी तीमध्ये अधिकांशको मृत्यु भएको समाचारमा जनाइएको छ ।
यस क्रममा कतिपयको झडपमा हत्या पनि भएको यहाँको गृहमन्त्रालयले जनाएको छ । यी दुर्घटनाहरुमा परी १०० जना भन्दा बढी व्यक्ति घाइते भएका सरकारले मंगलबार सार्वजनिक घोषणा गरेको बताइएको छ । यहाँका गृहमन्त्री कार्लोस् रोमेराले मृत्यु हुनेमा प्राय कार दुर्घटनाको कारण बढी देखिएको बताएका छन् ।

अघिल्लो सप्ताहान्तलाई बोलिभियनहरुले ‘कार्निभल फेस्टिवल’ नाममा मनाउने गरेका छन् । तीन दिनसम्म जारी यस पर्वको क्रममा भएका दुर्घटनामा कम्तीमा ४० को मृत्यु हुनुको साथ अन्य १२४ जना घाइते भएका बताइएको छ । अझै पनि यो तथ्याङ्कमा वृद्धि हुनसक्ने पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशैभरि मनाइने यस पर्वमा भएको हताहतको तथ्यांक अझै आउन सक्ने बताएका छन् ।

सरकारले तयार पारेको यस प्रतिवेदनअनुसार १५ जना सडक दुर्घटनामा र अन्य आठ जना घुम्ती खाजा पसलनजिक भएको विस्फोटबाट मृत्यु भएको । सन् २०१७ को यही पर्व मनाउने क्रममा भएका दुर्घटनामा ६७ व्यक्तिको मृत्यु भएको थियो । –रासस/सिन्ह्वा















प्रतिक्रिया