शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

एनसेलको टावरमा बम विस्फोट तथा अागजनी

दैनिक नेपाल २०७४ फागुन १ गते १३:३१

चितवन, १ फागुन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा साेमबार राति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए । घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उनले बताए ।

यसैविच, विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा साेमबार नै राति आगजनी भएको छ । साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

रोल्पा–सोमबार राति माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए । ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् ।

बम विस्फोटको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यस पटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने आशंका गरिएको छ । फागुन १ को पूर्वसन्ध्यामा घटना भएकाले राजनीतिक उद्देश्यले गरिएको आक्रमण हुन सक्ने अनुमान गरिएको छ ।

विस २०५२ साल फागुन १ गते शुरु भएको सशस्त्र युद्धको सम्झनास्वरुप माओवादी घटकहरुले जिल्लामा विभिन्न कार्यक्रम गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएलको आयोजनामा सदरमुकाम लिवाङमा कार्यक्रम सम्पन्न भएको छ भने नेकपा थवाङ गाउँपालिकाको आयोजनामा थवाङमा सप्ताहव्यापी कार्यक्रम भइरहेको बताइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित