
काठमाडौं, २८ माघ । चीनसँग व्यापार गर्ने नेपाली व्यवसायीहरूको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष बच्चु पौडेलको नेतृत्वमा व्यवसायिक प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
‘राष्ट्रिय सम्बृद्धिको आवश्यकता, व्यवसायिक हकहितका लागि एकता’ भन्ने मूल नारा लिएर पौडेल प्यानल आइतवार हुने चुनावका लागि होमिएको हो ।
संघमा राजनीति घुसाउन हुँदैन भन्दै पौडेलको नेतृत्वमा बनेको व्यवसायिक समूहले व्यवसायिक हकहितका लागि काम गर्ने भन्दै आफ्ना प्रतिवद्धताहरु अगाडि सारेको छ ।
संघका सल्लाहकार समितिका संयोजक अमृत खड्काको नेतृत्वमा अर्को प्यानल पनि नेतृत्वका लागि चुनावमा होमिएको छ । खड्का प्यानलमा राजनीति घुसेको हुँदा पौडेल प्यानल धेरैको रोजाई हुन सक्ने अड्कल व्यवसायीहरु गर्दछन् ।
विगत २५ बर्षदेखि हिमालय सीमापारबाट व्यवसाय गरिरहेका पौडेल २०५८ सालदेखि संघमा प्रवेश गरेका हुन् । ‘हामी शुद्ध व्यवसायिक प्यानल हौ, हामी समग्र व्यवसायिक हकहितका लागि लड्छौ’ अध्यक्षका उम्मेदवार पौडेल भन्छन–‘हाम्रो संस्था राजनीतिक दलको भातृ संगठन नभएकाले र व्यवसायीक हकहितका लागि प्रतिवद्ध हुदै एकजुट हुनु आजको आवश्यक्ता हो ।’
आफुहरु राजनैतिक रंग नमिसाएर हिमालय सिमापार बाणिज्य संघका सम्पूर्ण सदस्यहरुको साझा प्यानलकारुपमा चुनावी प्रतिष्पर्धामा होमिएको पौडेलको दावी छ । ‘हाम्रो विशुद्ध व्यवसायीहरुको प्यानल हो, अत्याधिक मत दिएर जिताउनुहोला, भोलिका दिनमा हामी सधैव व्यवसायीका नै साथमा रहने छौ’ पौडेलले भने ।
यस्तै संघका उपाध्यक्ष अशोक कुमार श्रेष्ठले पौडेल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ‘सबै व्यवसायीहरुले अग्रजका नाताले मैले काम गर्न सक्छु भनेर बरिष्ठ उपाध्यक्षमा पठाउनु भएको छ ’ श्रेष्ठको भनाई छ । सरकारसँग सहकार्य गर्दै व्यवसायीहरुले भोगिरहेका समस्या समाधानका लागि अव आउने नेतृत्वले भरपुर काम गर्ने श्रेष्ठको दावी छ ।
पौडेल प्यानलबाटै महासचिव पदका लागि उम्मेदवारी दिएका होमनाथ तिमल्सिना (नवराज)ले व्यवसायीहरुले भोगेका समस्या हल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वर्तमान कार्यसमितिका सक्रिय र जुजारु सदस्यसमेत रहेका नवराजले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दै चाइनासँग राम्रो सम्वन्ध रहेका र अग्रज व्यवसायीहरुको शुद्ध व्यवसायिक प्यानल बनेकाले पौडेल प्यानललाई जिताउन आग्रह गरेका छन् ।
सचिव पदका लागि पौडेल प्यानलबाट दिपक कुमार श्रेष्ठ र सदस्यमा निरकुमार क्षेत्री ९नृप अधिकारी०को उम्मेदवारी तय भएपनि अन्य उम्मेदवारको भने टुंगो लाग्न बाकि रहेकाले शनिवारसम्म सबै उम्मेदवार टुंगो लगाइसक्ने अध्यक्षका उम्मेदवार पौडेलले जानकारी दिए ।
पुरानो र निकै अर्थपूर्ण रुपमा लिइएको यस संघको काठमाडौँको बुद्धनगरमा आफ्नै साढेपाँच तले भवन छ जहाँ वैदेशिक रोजगार विभागको कार्यालय रहेको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघको स्थापना भएपछि चीनसँग व्यापार गर्ने ८ सय ६४ व्यवसायी यस संस्थामा आवद्ध रहेका छन् । यो संस्था नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य संस्था पनि हो । नेपाल हिमालय सिमापार वाणिज्य संघले विभिन्न सामाजिक सेवाका गतिविधिहरु तथा नेपाल चीन मैत्री सम्बन्धका सेवाहरु पनि सञ्चालन गर्दै आएको छ ।
२०७२ मा आएको विनाशकारी भूकम्प तथा बाढि पहिरोका कारण तातोपानी नाका बन्द भएपछि सिमापारबाट व्यापार गर्ने व्यवसायीहरु निकै मर्कामा परेका थिए । अहिले यी व्यवसायीहरुले केरुङ नाकाबाट व्यापार गर्दै आएपनि जतिसक्दो चाडो तातोपानी नाकालाई संचालनमा ल्याउन नेपाल हिमालय सिमापार वाणिज्य संघका लागि ठुलो चुनौती त छ नै अबको नेतृत्वको लागि पनि यो काम ठूलै चुनौतीको विषय बनेको छ ।















प्रतिक्रिया