२२ कार्तिक २०८३, आइतबार

प्रेस चौतारी पत्रकारिता पुरस्कार गुरुङलाई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २२ माघ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कार शान्ति गुरुङलाई प्रदान गरिएको छ ।

प्रेस चौतारीको २०औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले रु ११ हजार १११ नगदसहित उहाँलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्दै मर्यादित र अनुशासित एवं खोजमूलक पत्रकारिताका माध्यमबाट महानगरपालिको विकासमा टेवा पुर्‍याउन सञ्चारजगत्लाई आह्वान गर्नुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रेस चौतारीका सहइञ्चार्ज सूर्य थापाले पुरस्कारले पत्रकारिताको विकासमा टेवा पुग्ने बताउनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस क्षेत्रको पत्रकारिताको विकासका लागि महासंघ र नगरपालिकाको सहकार्यमा विभिन्न तालीम आयोजना गरिने बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व गुरुङले पुरस्कार प्राप्त गर्दा आफूलाई थप जिम्मेवारी बढेको अनुभूति भएको बताउनुभयो । पुरस्कार प्रतिभा छनोट समितिका संयोजक हरि बास्तोलाले पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशीलताका साथै पेशाप्रतिको जिम्मेवारी, अनुभव आदिका आधारमा व्यक्ति छनोट गरिएको जानकारी दिनुभयो ।

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल, चौतारीका केन्द्रीय सदस्य श्याम कुँवरलगायतले प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा क्रियाशील कास्की शाखाका पत्रकारमध्ये एक जनालाई सो पुरस्कार दिइँदैआएको बताउँदै पत्रकारिता पेशालाई मर्यादित एवं जिम्मेवारपूर्ण बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । रासस