– मिना बुढाथोकी
सल्यान, २२ माघ । गर्भवती तथा सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई अन्य समयको तुलनामा पोषणको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् । गर्भावस्था र सुत्केरी अवस्था एक विशेष अवस्था भएकाले यस बेला पोषण सुधारमा ध्यान नदिए कहिलेकाहीँ यस अवस्थामा महिलालाई जटिल समस्याहरू पनि आउनसक्ने चिकित्सकहरुको भनाइ छ ।
यसै कुरालाई मध्य नजर गर्दैं पोषणमा सुधार ल्यायनका लागी सुआहारा सल्यानले जिल्लाका गर्भवती तथा सुत्केरी आमालाई १ हजार १ सय ३० वटा कुखुरा सितैमा वितरण गरेको छ ।
पोषणका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको यस सुआहारा नामक संस्थाले गर्भवती तथा सुत्केरी महिलाका पोषणमा सुधार तथा आयआर्जनका लागी कुखुरा वितरण गरेको जनाएको छ ।
सुआहाराका घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत मनोज चौधरीले पहिलो चरण अन्तरगत जिल्लाका साविक तिनवटा गाविसका गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गरिएको बताए । उनले भने, ‘जिल्लामा रहेका ‘सुनौला हजार’ दिन का आमाको पोषणमा सुधार ल्याउन हामीले कुखुरा वितरण गेरका हौँ ।’
उनले साबिकका तीनवटा गाविस लेखपोखरामा १ सय ६५, सिनबांगमा ३५ र रिममा २६ गरि २ सय २६ महिलालाई कुखरा वितरण गरेको जनाए । एक घरपरिवार वा एक आमालाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको संस्थाले जानकारी दिएको छ । उनीहरुलाई दुईवटा भाले र तीन वटा पोथी वितरण गरिएको सुआहारा सल्यानका कार्यक्रम संयोजक हरि घिमिरेले बताए ।
उनका अनुसार सुनौलो हजार दिन भित्रका आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो । संयोजक घिमिरे भने, ‘यो प्रजातीका कुखुराले १ वर्षमा २ सय ८० भन्दा बढी अण्डा उत्पादन गर्छ । अण्डा आमा र बच्चालाई पोषणयुक्त खानाको लागी राम्रो हुने भएकोले कुखुरा वितरण गरेका हौँ ।’












प्रतिक्रिया