५ कार्तिक २०८३, बिहिबार

दोस्रो बैंकिङ महाकुम्भ मेला शुरु, शहरमा पनि वित्तीय साक्षरताको कमी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, माघ १९ । काठमाडौँको भृकुटीमण्डपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ सुरु भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबी नेपालले बैंकिङ एक्स्पोको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै गभर्नर डा. नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ सुविधा लिन पाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैंकिङ एक्स्पो कार्यक्रम अत्यन्तै सरहानीय रहेको बताए । वित्तीय कारोबार कसरी गर्ने भन्ने जानकारी दिनका लागि वित्तीय कारोबार गर्ने सम्पूर्ण संस्थाहरुलाई बैंकिङ एक्स्पोले एकै छानामुनि समेटेको भन्दै उनले यसबाट भरपूर फाइदा लिन सुझाए । पढेर नजानिने तर गरेर जानिने उद्यमशीलतासम्बन्धी जानकारीहरु बैंकिङ एक्स्पोबाट लिन सकिने गभर्नर डा. नेपालले बताए ।

‘कति ग्रामिण भेगमा गाउँमा बैंकिङ पहुँच पुगेको छैन’ गभर्नर डा. नेपालले भने, ‘शहरी क्षेत्रमा बैंक पुगे पनि बैंकिङ सुविधा बारे सबैकहाँ जानकारी पुग्न सकेको छैन ।’ अब शहर बजारमै समेत बैंकिङ सुविधा बारे स्पष्ट बनाउन वित्तीय साक्षरताको पाठ पठाउनु पर्ने उनको भनाई थियो ।

वित्तीय चेतना नभएका कारण सर्वसाधारणमा बचत गर्ने बानीको विकास नभएको उनको भनाइ थियो । अन्य विकासशील मुलुकमा जस्तै विद्यालय तहदेखि नै बचत गर्ने, लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सके मुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने उनको भनाइ थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बचत गरौँ भन्ने नारालाई कुनै एक बैंकले भन्दा पनि सबै वित्तीय संस्थाहरु मिलेर सामुहिक रुपमा प्रचार गर्न सकेमा बढी प्रभावकारी हुने बताए । बैंकिङ एक्स्पोले वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय क्षेत्रका सबै संस्थाहरुलाई समेटेको हुँदा यो कार्यक्रमले सर्वसाधारणमा बैंकिङ चेतना बढाउन ठूलो भूमिका खेल्ने बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले वित्तीय साक्षरता गाउँगाउँमा पुर्‍याउन सके आर्थिक कारोबार बढ्ने र मुलुक समृद्ध हुने बताए । आर्थिक कारोबारलाई बढाउन मद्दत गर्ने उद्देश्यले संचालन गरिएको बैंकिङ एक्स्पो जस्ता कार्यक्रमलाई युवा स्वरोजगार कोषले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने बताए । बचत परिचालन गरेपछि लगानी गर्ने संस्थाहरुले लगानीको सदुपयोग भएको छ कि छैन, परिचालित कर्जाले आर्थिक समृद्धिमा मद्दत पुर्‍याएको छ कि छैन सो कुराको मूल्यांकन समेत गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलकप्रसाद खनालले एक्स्पोमा सहभागी हुने र स्टल अवलोकन गर्ने युवाहरुले आर्थिक समृद्धि र उद्यमशीलता विकासमा भूमिका खेल्नेमा विश्वस्त रहेको बताए । अहिले ४० प्रतिशत मात्रै रहेको बैंकिङ पहुँचलाई बढाउनु आवयश्यक रहेको र यसमा नियामक राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो । सबै स्थानीय तहमा बैंक शाखा पुर्‍याउने सरकारी नीतिलाई विकास बैंकहरुले पनि सहयोग गरिरहेको खनालले जानकारी दिए ।

त्यस्तै, वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बचत गर्ने र एकाउन्ट खोल्न लगाउने मात्रै नभएर बैंक खाताबाट फाइदा कसरी लिने, बचत गरेको रकमको परिचालन कसरी गर्ने लगायतका विषयमा पनि जानकारी दिनु जरुरी रहेको बताए । कर्जा लगानी गर्नका लागि निक्षेप चाहिने भएकाले कर्जाको मात्रै भन्दा पनि निक्षेपको प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ थियो । यी सबै कुरामा ध्यान दिन सके मात्रै वित्तीय साक्षरसम्बन्धी कार्यक्रमहरु सफल हुनेमा उनले जोड दिए ।