
– बिरा गडाल
बैतडी, १८ माघ । ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ । हाल उनी एमालेबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी छिन । बैतडीको जस्तो समाजबाट प्रदेशसभा सदस्य बन्न उनको राजनितिमा ठूलो संघर्ष छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरेकी हुन् ।
५२ वर्षीय भट्ट समाजमा रहेको छुवाछुत, कुसंस्कार, विकृति, भेदभाव, थिमोमिचोलाई चिर्दै आजको अवस्थामा पुगेकी हुन । अन्याय अत्याचारको अन्त्यको लागि सधै तत्पर रहने भट्ट जिल्लाकै महिला अगुवा हुन् । त्यो बेला कम्युनिष्ट सिद्धान्त अंगालेका नेता देख्ने बित्तिकै हेर्ने नजरसमेत समाजको ठिक थिएन । उनले त्यही सिद्धान्त अंगालेर गाउँगाउँ पुगेर महिलालाई संगठित गरिन । घरधन्दामा सिमित महिलालाई समाजमा हिडाउँन उनले खेलेको भूमिका महत्वपूर्ण छ ।
उनले राजनितिक यात्रा तय गर्ने समयमा ठूलै संघर्षको सामना गर्नुपर्यो । महिलालाई घरधन्दामै सिमित राख्ने समाजमा उनी जिल्लाका विभिन्न ठाउँमा पुगेर संगठन बिस्तार गरिन । अधिकार, समानताको लडाइँ लडने ७ नम्बर प्रदेशकी उनी अगुवा महिला हुन् । समाजमा महिलाहरुले पुरुषसरह अधिकार पाउनुपर्ने माग राख्दै उनले गरेको लडाइँकै फलस्वरुप आज महिलाले सम्मानजनक स्थान पाउन सकेका छन् । पुरुषसरह अधिकार पाउनपर्ने माग राख्दै उनीसहितका महिला पटकपटक काठमाडौँ पुगेर आन्दोलन गरेको उनीले बताइन् । ‘हिजोको अवस्था र आजको अवस्थामा केही परिवर्तन आएको छ,’ उनले भनिन्, ‘हामीले महिला अधिकारको लडाइँँ लडेर केही नभए पनि ३३ प्रतिशत आरक्षण पाउन सकेका छौँ ।’ हरेक क्षेत्रमा महिलालाई स्थान पाउन थालेको उनले बताइन् । स्थानीय तहमा समेत अहिले महिला प्रमुख/उपप्रमुख भएको उनको भनाइ छ ।
२०४६ सालमा अखिल नेपाल महिला संघको जिल्ला संयोजक बनेकी भट्टकै कारण हाल जिल्लामा केही महिला राजनीतिमा सक्रिय छन् । २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदै जिल्ला विकास महासंघको केन्द्रीय सदस्य बनेकी उनीसँग स्थानीय निकायकोसमेत लामो अनुभव छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार थिइन् । पार्टीले मुल्यांकन गर्दै जिम्मेवारी दिएपछि त्यसलाई निपूर्ण ढंगले निर्वाह गर्ने उनको अठोट छ । ७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने लगभग पक्का छ । उनी प्रदेशसभामा जुनसुकै पद समाल्न तयार छिन् । राजनीतिको लामो अनुभव भएकी भट्ट आफ्नो क्षमताले प्रदेशको विकासको लागि लाग्ने बताउँछिन् ।
अन्य प्रदेशको तुलनामा पछाडि रहेको यो प्रदेश जलविद्युत्, पर्यटनको विकास गर्न सके अन्य प्रदेशको तुलनामा धनी बन्न सक्ने उनले बताइन् । ‘प्रदेशमा सरकार बनेपछि यो प्रदेशलाई सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण हात हुन्छ,’ उनले भनिन्, ‘भिजनसहित अघि बढ्न सके मात्र समृद्धिको ढोका खुल्छ ।’ जनताले बाम गठबन्धनलाई म्यान्डेट दिएको भन्दै जनताको चाहनाअनुसार काम गर्न आफू कटिबद्ध रहेको समेत उनी बताउँछिन् ।












प्रतिक्रिया