– बेलिना थापा
लमजुङ, १६ माघ । नेकपा एमाले लमजुङले मंगलबार राष्ट्रिय शहिद दिवस मनाउनुको साथै शहिद तिलक पाण्डेको १३ औँ स्मृती दिवस मनाएको छ ।
एमाले जिल्ला कमिटी लमजुङको आयोजना र सुन्दरबजार नगर कमिटीको व्यवस्थापनमा सुन्दरबजारमा कार्यक्रमको आयोजना गरिएको हो । पाण्डेको २०६१ साल माघ १६ गते तत्कालीन बिद्रोही नेकपा माओवादीद्वारा हत्या भएको थियो । सहिद तिलक पाण्डे लोकप्रिय र विकासप्रेमी नेताका रुपमा चर्चित थिए ।
कार्यक्रममा प्रदेशसभाका सदस्य एवम् नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य मायानाथ अधिकारीले सहिदहरुको त्याग र वलिदानले आजको परिवर्तन संभव भएको भन्दै सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्न सकेमात्र सहिदहरुप्रति सम्मान हुने बताए ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष एवं प्रदेशसभाका सदस्य धनञ्जय दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद जमीन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख एवम् सहिद तिलक पाण्डेका भाई लोकराज पाण्डे, सुन्दरबजार नगरपालिकाका प्रमुख जनक मिश्र, जिल्ला कमिटीका उपसचिव शुभाष पौडेल, अखिल नेपाल महिला संघ लमजुङका अध्यक्ष यशोदा रिमाल, सहिद तिलकराज पाण्डेकी पत्नि जानकी पाण्डे तुलाधरलगायतले मन्तय व्यक्त गर्दै सहिदले दिएको योगदानका बारेमा चर्चा गरे ।
कार्यक्रममा सहिद तिलक पाण्डेको तस्विर र लमजुङ क्याम्पसमा रहेको मदन–आश्रित वाटिकमा फूलमाला र अविर अर्पण गर्दै श्रदाञ्जली व्यक्त गरिएको थियो ।












प्रतिक्रिया