२२ कार्तिक २०८३, आइतबार

यसरी दिनहुँ ठगिइन्छन् महोत्तरीका उपभोक्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिवास (महोत्तरी), १४ माघ । स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदैँ आएका छन् । जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् ।

खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ । बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलिदा सधैँ तौल कम भएको पाइएको बर्दिवास नगरपालिका–२ की पवित्रा खड्काले गुनासो गरिन् । उनले भनिन्, ‘बजारबाट ल्याएको एक किलो तरकारी घर ल्याएर तौलँदा २०० ग्राम घट्छ । त्यस्तै हाल किराना पसलबाट ल्याइएका सामानको पनि छ ।’

बजारका स्थायी पसल र साप्ताहिक हटियामा ढुंगे ढक र परम्परागत तराजुको प्रयोगमा प्रतिबन्ध लगाएर कारबाही नगरेसम्म व्यापारीहरूले तौलमा ठगिनै रहने यहाँका उपभोक्ता बताउँछन् । बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामे ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको पाइएको भङ्गाहा नगरपालिका–५ राजपुरकी सामाजिक कार्यकर्ता हरिप्रिया कुशवाहाले बताइन् ।

बजार र पसलमा नापतौल व्यवस्थापन, अनुगमन गर्ने निकाय स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र नापतौल तथा गुणस्तर कार्यालयले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको उनले बताइन् ।

नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेल भन्छन्, ‘निश्चित दायित्व निर्वाह गर्ने कुरामा हल्लाखल्ला नभएसम्म कतैबाट वास्ता गरिँदैन ।’

यता बर्दिवास उद्योग वाणिज्य संघले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि व्यापारी सम्पर्कमा नआएको जनाएको छ । यता किराना र तरकारी व्यापारीहरूले भने प्रामाणिक ढक, तराजु निकै महँगो पर्ने भएकाले किन्न नसकिएको बताएका छन् ।

प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरी कारबाही बढाइने संघका महासचिव भवनाथ खतिवडाको भनाइ छ । –रासस