३० आश्विन २०८३, शुक्रबार

साउदी अरेबियाका राजकुमार थुनामुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियाद, १४ माघ । भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएका छन् ।

गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ ।

अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका छन् । गएको केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ । भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल हुन् ।

उनलाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो । पछि उनीमाथिको अभियोग प्रमाणित नभएपछि थुनामुक्त गरिएको बताइएको छ ।

उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए । थुनामुक्त भएपछि पनि उनले भ्रष्टाचारविरोधी कारबाही सुरु गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताए ।

राजकुमार तलाल साउदी अरेबियाका सबैभन्दा धनाढ्य बर्गका व्यक्तिहरुमा पर्दछन् । युवराज मोहमदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरुलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएका आरोप लगाइएको थियो ।

राजकुमार तलालजस्तै अरु पनि केही संभ्रान्तहरु जेलबाट छुटेको बताइएको छ । कतिपय व्यक्तिहरुको आरोप प्रमाणित नभएको तथा कतिपय धरौटीमा छुटेको पनि बताएका छन् । –रासस/एएफपी