
सोल, १२ माघ । दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी भएको समाचारहरुमा जनाइएको छ ।
यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । दक्षिण कोरियामा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागिताका लागि हजारौँ खेलाडी तथा खेल अधिकारीहरु जम्मा हुन लागेका छन् ।
यस्तो समयमा दक्षिण कोरियाको राजधानी सोलमा ठूलो संख्याका विदेशीहरु जम्मा हुन लागेको अवस्थामा उता दक्षिणी क्षेत्रको एक अस्पतालमा भने व्यापक आगलागी भएको छ । त्यस आगलागीमा परी ४१ जनाको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यस आगलागीमा परी सोही अस्पतालमा रहेका ८० व्यक्ति घाइते भएका छन् ।
सामाजिक सञ्जालमा राखिएका श्रव्यदृश्यहरुमा उक्त अस्पतालमा रहेका विरामीहरुलाई अस्पतालको छत् तथा कौसीमा जम्मा गरेर हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएका देखिन्छ । छ तल्ले सो भवनमा सरकारी अस्पताल रहेको छ । मृत्यु हुनेमा विरामी र उनका कुरुवाहरु पनि परेका समाचारमा जनाइएको छ ।
उक्त अस्पतालमा दिउँसाको खानाखाने बेलामा अकस्मात आगो लागेको हो । सो आगलागीको बारेमा अहिले सम्म पनि केही भन्न नसकिएको अस्पतालका चिकित्सक र नर्सले जनाएका छन् । खानाको समयमा अकस्मात आगो दन्किएको देखिएपछि एकाएक मानिसहरुमा भागाभाग मच्चियो, अहिलेसम्ममा निकै ठूलो क्षति भएको उनीहरुले भनेका छन् ।
आगो भूइँ तल्लाबाटै सुरु भएको देखिएको छ । जसका कारण धेरैजसो मृत्यु हुनेहरु अस्पतालको दोस्रो र तेस्रो तल्लाका रहेका छन् । मृत्यु हुनेमा अस्पताल भित्रकै मानिस परेका छन् । तीमध्ये के कति विरामी र कतिजना अस्पतालका कर्मचारी एवम् विरामीका कुरुवाहरु छन् भन्ने बारेमा केही बताइएको छैन ।
अहिले आगो नियन्त्रणमा लिने मात्र प्रयास भएको छ र के कतिजना मानिस के कसरी परे भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त आगलागी भएको समयमा सो अस्पतालमा विरामी र कर्मचारी गरेर कम्तीमा पनि २०० जना व्यक्ति रहेका थिए ।
दोस्रो तल्लामा रहेका एकजना विरामीले भने, ‘हामी दोस्रो तल्लामा थियौँ, यत्तिकैमा यहाँका नर्सले अकस्मात चिच्चाउँदै आगो लागेकोले भाग्न भनेपछि हामी पनि त्यहाँबाट भाग्यौँ ।’ नर्सले अस्पतालको आकस्मिक कक्षबाट भाग्न भनेको भए तापनि कतिपयले त्यसको मेसो नपाएर पनि धेरैको ज्यान गएको पनि उनले बताए ।
दक्षिण कोरियाकै एक जेचोन नामक सहरमा करिब महिना दिन अघिमात्र भएको आगलागीमा परी कम्तीमा पनि २९ जनाको ज्यान गएको थियो । फिजिकल फिटनेस सेन्टरमा भएको सो आगलागीबाट २९ जनाको ज्यान गएको थियो । विद्युतीय गडबढीका कारण सो आगलागी भएको त्यस समयमा बताइएको थियो । –रासस/एएफपी















प्रतिक्रिया