३१ आश्विन २०८३, शनिबार

अमेरिकाबाट नेपाली विद्यार्थी फर्काइयो

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । प्रदीप थापा (नाम परिर्बतन)लाई जनवरी महिनाको पहिलो साता सान्फ्रानसिस्को अन्तर्राष्ट्रिय एयरपोर्ट सुरक्षा जाँचले नेपाल फर्काइदिएको छ । तीन वर्ष अमेरिका बसेका उनी नेपाल गएर फर्कने क्रममा अध्यागमनले सोधपुछ गर्दै फर्काइदिएको हो ।

उनको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीको अन्तिम वर्षको पढाई अलपत्र हुने अवस्था सिर्जना भएको छ । यो घटनाले उनका कलेजका सहपाठीहरू समेत चिन्तित भएका छन् । अध्यागमनले आफूलाई फर्काईदिएको जानकारी थापाले लिंकन युनिभर्सिटीलाई समेत गराईसकेका छन् ।

युनिभर्सिटीमा रहेका अरू नेपाली विद्यार्थीको अनुरोधमा युनिभर्सिटीले उनको बाँकी अध्ययन नेपालमा नै बसेर अनलाइनबाट पूरा गर्न सक्ने सुविधा भने थप गरिदिएको छ । यसका लागि लाग्ने खर्च उनले ब्यहोर्नु पर्ने हुन्छ । कलेजका उनका सहपार्टी र केही सहयोगी मिलेर उनलाई बाँकी अध्ययनका लागि चाहिने खर्च जुटाउने तयारी गरिरहेका छन् ।

लिंकनमा अध्ययन गर्न आउने विद्यार्थी सानफ्रान्सिस्को एयरपोर्ट अध्यागमनले फर्काएको पहिलो घटना भने होइन । एक वर्ष बिचमा अरू दुई जनालाई पनि फर्काइसकेको जानकारी दूरबिन नेपाललाई प्राप्त भएको छ ।

लिंकन युनिभर्सिटीमा एमबिए प्रोग्राममा छनौट भई आवश्यक रकम र अरू प्रक्रिया पुराएर आउने क्रममा सानफ्रान्सिस्को अध्यागमनले नम्रता कार्की (नाम परिवर्तन)लाई एयरपोर्टबाटै फर्काइदिएको थियो । उनका आफन्तहरूका अनुसार उनलाई २४ घण्टा एयरपोर्टमा नै राखेर नेपाल फकाईदियो ।

लिंकन कलेजमा नै एमबिए गर्न आएका राधेश्याम अधिकारी (नाम परिवर्तन)लार्इ पनि सानफ्रानसिस्को एयरपोर्टबाट फर्काइदिएको थियो । सानफ्रानसिस्को बे एरियामा धेरै नेपाली विद्यार्थीले अध्ययन गर्ने अमेरिकाका युनिभर्सिटी मध्येको एक हो लिंकन । अमेरिकाका युनिभर्सिटीमा अध्ययनका लागि आउँदै गरेका विद्यार्थी फर्काइएका केही प्रतिनिधि घटना मात्र हुन् यी ।

ऋण लिएर महँगो भर्ना शुल्क र प्लेन टिकट तिरेर पनि सुन्दर भविष्यका लागि उत्साहित हुँदै आउने कति नेपाली विद्यार्थी अमेरिकाका युनिभर्सिटी टेक्न नपाउँदै एयरपोर्टवाटै फर्किएका छन् । त्यसको एकिन तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।

अध्यागमन सम्बन्धी जानकार वकिल गोपाल शाहाका अनुसार विमानस्थलमा रहने बोर्डर सुरक्षा निकाय (सीबिपी)ले आवश्यक जाँचबुझ गर्दा शङ्का लागेमा फर्काउने गरेको बताउँछन् । सी भी पीका गतिविधि अहिले अलि बढी आक्रमक भएका हुँदा विद्यार्थी र अरू भिसामा आउनेलाई फर्काउने क्रम बढेको हो । पछिल्ला केही महिनामा सानफ्रानसिस्को विमानस्थलबाट ६ जना नेपाली फर्काइएको छ ।

प्रदीप विमानबाट झरेर फटाफट विमानस्थल सुरक्षा जाँचको भिडमा लामबद्ध भए । उनलाई सी भी पी अधिकृतले अमेरिका आउनुको कारण सोधिखोजि गरे । प्रदिपका साथीहरू भन्छन् उनलाई नेपालबाट कति पैसा लिएर आएको र यहाँ बसेर पढ्न सक्ने अरू आधारका बारेमा पनि सोधिखोजी गर्यो । उनले आफ्नो साथमा दुईसय डलर मात्र रहेको यथार्थ बताए ।

त्यसपछि सहयोग गर्न सक्ने आफन्तहरूको बारेमा पनि जानकारी दिए । आफ्नो अन्तिम वर्षको अध्ययन मात्र बाकी रहेको र त्यसका लागि आफूले खर्च ब्यहोर्न सक्ने बताए पनि अध्यागमन अधिकृत प्रवेश अनुमति दिन तयार भएनन् । विद्यार्थी भिसामा यस्तो महँगो ठाउँमा बसेर अध्ययन गर्न सक्ने विस्वासिलो आधार नभएको भन्दै फर्काइएको हो ।

लिंकन युनिभर्सिटीमा पहिलो वर्षको अध्ययनका लागि आउँदै गरेकी नम्रता कार्कीले पनि उस्तै उस्तै प्रश्नको सामना गर्नु पर्यो । उनका नातेदार समिर कार्की भन्छन् “साथमा ल्याएको पैसा र अमेरिकामा अध्ययन अवधिभर रहँदा सहयोग गर्नसक्ने आफन्तहरूको बारेमा सोधिखोजी गर्यो । अध्यागमन अधिकृतलाई उनले दिएको फोननम्वरमा सम्पर्क हुन सकेन ।

उनी जाने ठेगाना र अपार्टमेन्ट लिजका लागि सहयोग गर्नसक्ने मानिसको सम्पर्क नम्बर पनि अध्यागमन अधिकृतले मागे । त्यसमा फोन गरेर उनले बताएको कुरालाई पुष्टि गर्न प्रयास गरे । कार्कीले एक वर्ष सोही अपार्टमेन्टमा बस्ने बताएकी थिइन । तर अपार्टमेन्टका लागि सहयोग गर्ने व्यक्तिले उनलाई केही हप्ताका लागि मात्र बस्ने व्यवस्था मिलाईदिएको जानकारी दिए । दुई जनाको फरक कुरा आएपछि सीभीपीले उनलाई नेपाल फर्काई दियो ।”

काम गर्न नपाउने प्रकृतिका भिसामा अमेरिका छिरेर काम गर्नु जोखिम उठाउनु हो । यस्तो जोखिम उठाउँदै काम गर्नेहरूको संख्या अमेरिकामा उल्लेख्य छ । विद्यार्थी भिसामा छिरेर लिएको सोसल नम्बर प्रयोग गरी काम गर्ने अझ बढी जोखिममा हुन्छन् । आफ्नै लापरबाहीले विद्यार्थीको पुनः प्रवेशमा समस्या हुने गरेको छ ।