क्यालिफोर्निया । एनआरएन क्यालिफोर्निया च्याप्टरको नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ ।
क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेको सभापतित्वमा आयोजित एक भव्य समारोहबीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
क्यालिफोर्नियाका अबैतानिक महाबाणिज्य दूत ऋषि ढकाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लस एन्जलसका लागि नेपाली पर्यटन दूत रामेश्वर भण्डारी लगायत यस क्षेत्र वरपरका विभिन्न संस्थाहरूको प्रतिनिधित्व रहेको थियो । उक्त समारोहमा पूर्ण बानियाको अध्यक्षता रहेको पुरानो टिमका समस्त पदाधिकारीहरूलाई बिदाइ गरिएको थियो ।
आफ्नो कार्यकाल सफल पार्न अहम् भूमिका खेल्नु हुने आफ्ना टिमका सम्पूर्ण पदाधिकारीहरूलाई निबर्तमान अध्यक्ष बानियाले धन्यवाद ज्ञापन गरेका थिए ।
पुरानो कार्यसमितिका अध्यक्ष पूर्ण बानियाले नयाँ कार्यसमितिका अध्यक्ष राम बाबु पाण्डे लगायत सम्पूर्ण पदाधिकारीहरूलाई खाता लगाई स्वागत गरेका थिए । महाबाणिज्य दूत ऋषि ढकाल र एनआरएन अमेरिका वरिष्ठ उपाध्यक्ष सुनिल साह, एनसिसीकी उपाध्यक्ष उमा कार्की थापाको रोहबरमा सम्पूर्ण पदाधिकारीहरूले आ(आफ्नो पदको शपथ ग्रहण खाएका थिए ।
नव नियुक्त कार्यसमितिमा अध्यक्ष राम बाबु पाण्डे, उपाध्यक्ष तुलसी चौलागाईं, सचिव रोशन अधिकारी, कोषाध्यक्ष दीपा सापकोटा भट्ट, सदस्यहरूमा गोपाल अधिकारी, मुरारी भट्टराई, कृष्ण गुरुङ्ग, प्रमोद जोशी, कोमल डोट्टेल, युवा संयोजक डिल्ली सिलवाल र महिला संयोजक दीक्षा बस्नेत आदी रहेका छन् ।
सोही अवसरमा एनारएनकी सदस्य तथा सांस्कृतिक संयोजक समेत रहेकी बिन्दु सापकोटाले रोशन अधिकारीको संयोजकत्वमा क्यालिफोर्निया च्याप्टरको सांस्कृतिक समूह पनि गठन गरेकी थिइन । उक्त समूहमा बाबु आचार्य, नवीन बुढाथोकी, बबिशा फुयाँल, प्रमिना कार्की, सफलता दुलाल, जशिना सिटौला, अनु गौचन आदि रहेका छन् ।
एनआरएनकी उपाध्यक्ष उमा कार्की थापाले एनआरएन च्याप्टर हेल्पडेस्क र एनआरएनकी महिला संयोजक इन्दिरा त्रिपाठीले च्याप्टर महिला संयोजक गठन गरी सार्वजनिक गरेका थिए । एनआरएन अमेरिकाका आर। सी। गौरी राज जोशी र लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर राजेन थापाले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
कार्यक्रमा बधाई तथा शुभकामना मन्तव्य राख्नेहरुमा महाबाणिज्य दूत ऋषि ढकाल, उमा कार्की थापा, इन्दिरा त्रिपाठी, मणि पनेरु नेपाली, उत्तम कार्की, गोकुल ढकाल, भक्त थापा आदी थिए । क्यान्सर रोगले ग्रसित एक नेपाली सुमन अक्षामीलाई उपचारको क्रममा अहोरात्र मेहनत गर्ने रमेश सिलवाललाई सङ्गीता सिवाकोटीले मन्चमा बोलाएर खाता ओडाएर सम्मान गरेकी थिइन । एक नेपालीको कष्टकर क्षणमा गोफण्ड मार्फत तथा प्रत्यक्ष आर्थिक सहयोग गरी नेपाल पठाउने खर्च जुटाउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिएकी थिइन ।
क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीले सञ्चालन गरेको उक्त भव्य कार्यक्रम च्याप्टरकी महिला संयोजक दीक्षा बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको थियो । मिठो गीत तथा विभिन्न किसिमका नृत्यहरूले माहौल मनोरन्जनात्मक पनि बनेको थियो । तारा हिमालयन कुजिनको स्वादिलो नेपाली भोजनले सहभागीहरू आनन्दित देखिन्थे ।
अन्तमा व्यस्त समयका बाबजुत यहाँ उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुने सान फ्रान्सिस्को लगायत लस एन्जलसका स्थानीय नेपाली समुदाय प्रति हार्दिक धन्यवाद भन्दै कार्यक्रमका सभापति पाण्डेले सभा विसर्जन गरी डिजे सुरु भएको गोषणा गरेका थिए ।















प्रतिक्रिया